अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना नियन्त्रणका लागि माओवादीका यस्ता छन् योजना

कोरोना नियन्त्रणका लागि माओवादीका यस्ता छन् योजना


काठमाडौ -नेकपा माओवादी केन्द्रले कोभिड नियन्त्रणको लागि विभिन्न योजना सार्वजनिक गरेको छ ।
माओवादी केन्द्रले आयुर्वेद, प्राकृतिक चिकित्सा लगायत विभिन्न पद्दति अन्तरगत जनताको प्रतिरोधात्मक क्षमता बढाउन र जीवनशैली बदल्न सकारात्मक योगदान दिने औषधी तथा जडिबुटीको खोज अनुसन्धान गरी वितरण गर्नु पर्ने माग समेत राखेको छ ।

पार्टी स्थायी समितिको जेठ ५ र ६ गते बसेको बैठकले यस बारेमा गम्भीर छलफल गरी कोभिड नियन्त्रणको लागि नीति, योजना, कार्यक्रम र संरचना बनाइ अघि बढ्ने निर्णय गरेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार सार्वजनिक गर्नुभएको छ । माओवादीले जारी गरेको १५ बुँदे प्रस्तावमा केन्द्रदेखि स्थानीय तहसम्म सर्वदलिय, सर्वपक्षीय संयन्त्र निर्माण गर्न अपिल गरेको छ ।

माओवादीले वर्तमानको महाविपत्तिसँग जुध्न पार्टीको नेतृत्वमा केन्द्र, प्रदेश र स्थानीय तहसम्म कोभिड स्वास्थ्य ईकाई गठन गर्ने जनाएको छ । संक्रमितको अवस्था बुझेर आवश्यकता अनुसार उद्घार, परीक्षण, कन्ट्रयाक्ट ट्रेसिङ्ग, क्वारेन्टाईन, आइसोलेसन, होल्डिङ सेन्टर निर्माण साथै उपचारमा सहजीकरणका अतिरित्त जनचेतना अभिवृद्घि कार्यक्रम संचालन गरिने माओवादीले जनाएको छ ।

जनताको खोप प्राप्तिको अधिकार र आवश्यकतालाई परिपूर्ति गर्न पार्टीले पनि आफ्नो सम्बन्धलाई परिचालन गरी कुटनैतिक पहल लिने माओवादीले जनाएको छ । पार्टी नेतृत्वमा गठित स्वास्थ्य इकाईले संक्रमितको लक्षणको आधारमा स्थिति निर्धारण गरी शीध्र उपचार तथा अक्सिजनको व्यस्थापन गर्न जोड जनाएको छ ।

पार्टीको नेतृत्वमा कोभिड कोष खडा गर्ने माओवादीले जनाएको छ । यसमा पार्टीको तर्फबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचितले पाउने पारिश्रमिक एवं मासिक भत्ता र बिभिन्न राजनैतिक नियुक्ति लिएकाले आफूले प्राप्त गरेको आम्दानी बुझाउनु पर्नेछ । पार्टी बाहिरका सहृदयी र मनकारी महानुभाव र विभिन्न संघ संगठनलाई पनि सहयोग गर्न अनुरोध गरिने माओवादीले जनाएको छ । यस सम्बन्धमा ठोस निर्णय केन्द्रीय कोभिड स्वास्थ्य इकाईले लिने माओवादीले जनाएको छ ।

महाविपत्तिमा जनताको सेवा गर्दा मृत्युवरण गर्ने स्वास्थ्यकर्मीहरुलाई ‘सहीद’ घोषणा गराउन पहल गर्ने माओवादीले जनाएको छ । सरकारी र सामुदायिक अस्पतालको वरिपरि सातै प्रदेशमा माओवादी पार्टीले सातवटा अक्सिजन प्लान्ट स्थापना गरी अक्सिजन आपूर्ति सहज गर्न प्रयास गर्ने जनाएको छ । यसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोग जुटाउन नेतृत्वतहबाट विशेष पहल गरिने माओवादीले जनाएको छ ।

सबै स्तरका स्वास्थ्य इकाईहरु र स्वयम्सेवकहरुलाई सरकारी र निजी सबै क्षेत्रका अस्पतालको बेड संख्याको स्थिति, उपचार प्रक्रियाको अध्ययन, अनुगमन गरी तथ्याङ्क संकलन गर्नका साथै सहजीकरण गर्ने माओवादीले जनाएको छ । स्थलगत मार्ग अतिरिक्त हवाईजहाजबाट आउने यात्रीहरुलाई पनि कडाईपूर्वक जाँच गरिनु पर्ने बताउँदै नेपाललाई ट्रान्जिट प्वाईन्ट बनाउने सबै प्रकृया बन्द गर्न माओवादीले माग गरेको छ ।

विपतको विशिष्टतालाई ध्यान दिएर अनावश्यक राजनैतिक नियूक्ति रोक्न, अनुत्पादक क्षेत्रको फिजुल खर्च कटाएर अक्सिजन प्लान्ट स्थापना गर्न, खोपको प्रवन्ध गर्न, अत्यावश्यक तथा आधारभूत सेवा एवं औषधीको आपूर्तिमा लगाउन जोड दिइने माओवादीले जनाएको छ । कोभिडको बेलामा पनि कालोबजारी गर्ने र सामानको दुरुपयोग गर्ने माथि कडा कारबाही गर्न माओवादीले माग गरेको छ ।

आयुर्वेद, प्राकृतिक चिकित्सा लगायत विभिन्न पद्दति अन्र्तगत जनताको प्रतिरोधात्मक क्षमता बढाउन र जीवनशैली बदल्न सकारात्मक योगदान दिने औषधी तथा जडिबुटीको खोज अनुसन्धान गरी वितरण गर्नु पर्ने माओवादीले माग गरेको छ ।

कोभिड महामारीसँगै रोजगारी गुमाएका र भोकमरीको चपेटामा छटपटाएका नागरिकहरुलाई स्थानीय तह मार्फत् खाद्यान्न र सुरक्षाको विषेश व्यवस्था गर्नु पर्ने माओवादीको माग छ । क्षतिलाई न्यूनिकरण गर्न माओवादीले स्थानीय तहलाई सवल बनाउनु पर्ने कुरामा जोड दिएको छ । माओवादीले विपतमा सक्दो सहयोग गर्न पार्टी कार्यकर्तालाई आग्रह गरेको छ ।