अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बुद्ध जयन्ती र उभौलीमा उपप्रधानमन्त्रीको शुभकामना– राष्ट्रिय एकतालाई थप सुदृढ र सबल बनाऔं

बुद्ध जयन्ती र उभौलीमा उपप्रधानमन्त्रीको शुभकामना– राष्ट्रिय एकतालाई थप सुदृढ र सबल बनाऔं


काठमाडौं– उपप्रधानमन्त्री ईश्वर पोखरेलले २५६५औं बुद्व जयन्ती तथा किराँत समुदायको उभौली पर्वको अवसरमा समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

शान्तिका नायक भगवान् बुद्धको जन्म, बोधी ज्ञान प्राप्त गरेको दिन र महापरिनिर्वाण भएको तीनवटा पवित्र संयोगका रुपमा पवित्र दिन स्वरुप आजको दिनलाई लिने गरिन्छ । यसैगरी, प्रकृति पुजक किराँत समुदायले आजको दिनलाई विशेष पर्वको रुपमा मनाउने चलन छ ।

‘मौलिक चाडपर्व, धर्म, संस्कृति, रितिरिवाज र मुल्य मान्यता हामी नेपालीहरूका अमुल्य सम्पत्ति हुन्,’ उपप्रधानमन्त्री पोखरेलको सन्देशमा उल्लेख छ, ‘यिनै संस्कार र सभ्यताहरूले हामीलाई एकताबद्व बनाउन प्रेरित गरिरहेको छ । तसर्थ, विश्व शान्तिका अग्रदूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको सही अर्थमा परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सदभाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ र सबल बनाउन सकिने विश्वास मैले लिएको छु ।’

पोखरेलले विश्वव्यापी फैलिएको कोरोना भाइरस महामारीबाट सम्पूर्ण नेपाली र सिंगो मानवजगतले छिट्टै मुक्ति पाउनेछौं भन्ने कामना गर्नुभएको छ । ‘जनतालाई कोरोना भाइरसबाट मुक्त दिलाउन सरकारले आफ्नो सम्पूर्ण ध्यान केन्द्रीत गरिरहेकाले यो लडाइँमा साथ दिन म सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीहरुमा हार्दिक अपिल पनि गर्न चाहन्छु,’ सन्देशमा लेखिएको छ ।