अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चिनियाँ कम्युनिस्ट पार्टीसँग नेपालका नेताहरूको भर्चुअल बैठक

चिनियाँ कम्युनिस्ट पार्टीसँग नेपालका नेताहरूको भर्चुअल बैठक


काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड-१९ संक्रमणको सम्बन्धमा चीन सरकारले दिएको सहयोगको निम्ति आभार व्यक्त गर्नुभएको छ ।

आज चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले नेपाल र चीनका राजनीतिक दलहरूसँग महामारीको बेला संयुक्तअघि बढ्ने सम्बन्धमा आयोजना गरेको भर्चुअल बैठकमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले चीन सरकारले नेपालका लागि स्वास्थ्य सामग्री, भ्याक्सिन र अक्सिजन प्लान्ट सहयोग गरेकोप्रति आभार तथा धन्यवाद व्यक्त गर्नुभएको हो ।

चीनले कोभिडविरुद्धको भ्याक्सिनमा चीनले प्राप्त गरेको सफलताको पनि उहाँले प्रशंसा गर्नुभयो । उपप्रधानमन्त्री पोखरेलले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई अझै सहयोग चाहिएको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले महामारी नियन्त्रणका लागि चिन सरकारले नेपाललाई मेडिकल सामग्री उपलब्ध गराउनु खुसीको कुरा भएको बताउनुभयो ।

नेपालको हिमाल, नदी र संस्कृतिसँग दुई देशबीचको सम्बन्ध जोडिएको उल्लेख गर्दै उहाँले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको पनि बताउनुभयो ।

नेपाली कांग्रेसका नेता नारायण खड्काले कोभिड-१९ महामारीका कारण अक्सिजन, अक्सिजन सिलिण्डर लगायत स्वास्थ्य सामाग्री अभाव भइरहेका बेला नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेकामा धन्यवाद दिनुभयो । उहाँले महामारी नियन्त्रणमा चीनबाट नेपालले सिक्नुपर्ने बताउनुभयो ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दुईदेशबीच असल मित्रताको सम्बन्ध रहेको बताउनुभयो । चीनले सधैँ नेपालको राजनीतिक स्थायित्व र विकास चाहेको उल्लेख गर्दे महामारीको बेलामा उपलब्ध गराएको खोप लगायत स्वास्थ्य सामाग्रीले नेपालीको जीवन रक्षा गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि खोप लगायत स्वास्थ्य सामाग्रीमा चीन सरकारले गरेको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले पछिल्लो पटक चीन सरकारले उपलब्ध गराएको अक्सिजन सिलिण्डरका कारण मात्रै पनि हजारौँ नेपालीको जीवन रक्षा भएको बताउनुभयो ।

उहाँले लकडाउनको समयमा पनि राष्ट्रिय गौरवका आयोजनाहरूको काम कम प्रभावित होस् भन्नेमा ध्यान पुर्‍याएको र काम जारी राखेको बताउनुभयो ।

चीनले अघि सारेको बिआरआई प्रोजेक्टमा नेपालले हस्ताक्षर गरेको तीन वर्ष वितिसकेको उल्लेख गर्दै उहाँले अब यसको कार्यान्वयनमा जानुपर्ने बेला आएको बताउनुभयो ।