अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डोटीमा कोरोना संक्रमितलाई निःशुल्क पोषणयुक्त खाना

डोटीमा कोरोना संक्रमितलाई निःशुल्क पोषणयुक्त खाना


डोटी- कोरोना सङ्क्रमितले पोषणयुक्त खानेकुरा नपाउँदा ज्यान जाने गरेको खबर आइरहेका बेला जिल्लामा कार्यरत सम विकास केन्द्र (इडिसी) नामक एक गैरसरकारी संस्थाले यहाँका कोरोना सङ्क्रमितलाई पोषणयुक्त खानाको व्यवस्था गरेको छ ।

उक्त संस्थाले जिल्ला अस्पतालको आइसोलेशनकक्षमा भर्ना भएका कोरोना सङ्क्रमितलाई २१ दिनसम्म पोषणयुक्त खाना खुवाउने व्यवस्था मिलाएको छ । संस्थाले यही जेठ ११ गतेदेखि कोरोना सङ्क्रमितलाई पोषणयुक्त खाना खुवाउन थालेको कार्यक्रम संयोजक केशव परियारले बताउनुभयो ।

विदेशी दातृ निकाय एक्शन एड नेपालसँगको सहकार्यमा उक्त संस्थाले आइसोलेशनमा भर्ना भएका सङ्क्रमित तथा उनीहरूका कुरुवाका लागि खानाको व्यवस्था मिलाएको जिल्ला अस्पतालले जनाएको छ ।

अस्पतालभित्र रहेको क्यान्टिन र सम विकास केन्द्रबीच सम्झौता भएअनुसार क्यान्टिन सञ्चालकले प्रत्येक दिन ५० रुपैयाँको बिहानको नास्ता, फलफूल तथा १३० रुपैयाँको बिहानको खाना दिने गरेका छन् ।

यसैगरी, ५० रुपैयाँको दिउँसोको नास्ता, फलफूल तथा साँझको १३० रुपैयाँको खाना गरी बिरामी र प्रत्येक बिरामीका एक कुरुवासमेतलाई उक्त खानेकुरा प्रदान गरिँदै आएको छ । संस्थाले यही जेठ ३१ गतेसम्म आइसोलेशनमा जे–जति सङ्ख्यामा बिरामी आए पनि ती बिरामी र उनीहरू प्रत्येकका एक कुरुवाको खाना तथा नास्ताको व्यवस्था मिलाइएको छ ।