दमक -प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिका नाममा विकास निर्माणका कामलाई रोक्न नसकिने बताउनुभएको छ ।
गृह नगरमा रहेको दमक बहुमुखी क्याम्पसको भवन शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले केही तत्वहरुले एकबर्षसम्म विकास निर्माणको काम ठप्प पार्न भन्ने गरेको तर त्यो असम्भव रहेको बताउनुभएको छ । ‘अब चुनाव आयो । त्यसैले यो बर्ष विकासका केही काम गर्नु हुदैन भनेर केही साथीहरु भन्नुहुन्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘तर सरकार जनउतरदायी भएकोले जनताको सुविधाका लागि गर्ने काम गर्न कसैको भनाइको परवाह गर्दैन ।’
प्रधानमन्त्री ओलीले केही विपक्षीहरुले सरकार लोकप्रिय हुन्छ भनेर विकास निर्माणका काम रोक्न आग्रह गरेको बताउनुभयो । ‘सरकारले लोकप्रिय हुने काम गरिसकेको छ ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘हामी लोकप्रियताका लागि भन्दा पनि जनताका लागि काम गरिरहेका छौं ।’
भर्चुअल विधिबाट भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सरकार कोरोनाबाट जनतालाई बचाउन अनवरत रुपमा लागेको बताउनुभएको छ । कोरोना विरुद्ध लड्न हरेक व्यक्ति सिपाँही भएकोले यसलाई परास्त गर्न सबैको उस्तै दायित्व हुने बताउनुभयो । ‘विभिन्न देशबाट खोप ल्याउने प्रक्रिया चलिरहेको छ । हामी खोप ल्याछौं र सबै नागरिकलाई खोप उपलब्ध गराउछौं’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
निर्माण हुन लागेको भवन भूकम्प प्रतिरोधी हुने प्रधानमन्त्रीले बताउनुभएको छ । समयमै निर्माण सम्पन्न गर्नका लागि सबै स्थानीयबासीहरुको उतिकै सहयोग हुनुपर्ने उहाँको भनाइ छ । करिब १० करोड रुपैंयको लगानीमा दमक बहुमुखी क्याम्पसमा २४ वटा कोठाका चारवटा ब्लक निर्माण हुने भएका छ्न ।
प्रतिक्रिया