नेकपा एमालेको नवौं महाधिवेशन ताममाझका बीच २०७१ असारमा काठमाडौंमा भयो । यो महाधिवेशनले नेपाली समाजको चित्रण गर्ने सवालमा एक मतमा नेतृत्व देखियो । त्यसले नेपालमा सामान्तवादको मूलत : अन्त्य भएको निष्कर्ष निकाल्यो । जनताको बहुदलीय जनवादलाई मार्गदर्शन सिद्धान्तको रुपमा विकास गर्दै प्राप्त गरेको लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गर्दै राष्ट्रिय पूँजीको विकास गरी समाजवादको बाटो तय गर्न आधार बलियो बनाउन अगाडि बढ्ने अठोट गर्यो ।
विचारमा एक देखिएको एमाले महाधिवेशन संगठनको नेतृत्वमा भने विवादित बन्यो । मदन भण्डारीको अवसान पछि वि.स २०५० बाट एकलौटी १५ वर्ष नेतृत्व गरेका माधवकुमार नेपाल र झापा संघर्ष हुदै नवौं महाधिवेशनमा अध्यक्षको रुपमा केपी शर्मा ओलीले आफूहरुलाई उभ्याए । यसरी नेतृत्वमा दावी गर्नेहरु बीच सदस्यहरु सम्म आ-आफ्ना उम्मेद्वार बनाइए । अझ मतपत्रमा दुवै तर्फको प्यानलगत नामावली लिएर मतदानका लागि प्रतिनिधिहरुलाई दिइयो । चुनावबाट नेतृत्वमा आएका केपी शर्मा ओली र माधवकुमार नेपालको प्यानलका पदाधिकारी बराबर कार्यकर्ताले निर्वाचित गरे ।
त्यस बेलाको चुनावी परिणाम देखि मनमा कुन्ठा बोकेर हिडेका माधवकुमार नेपाल कहिले प्रकट हुने गरी त कहिले सुसुप्त अवस्थामा निरन्तर नेतृत्वको (केपी ओलीको) विरुद्धमा लागि रहनुभयो । नेतृत्वलाई रचनात्मक सहयोग र खबरदारी गर्ने तह भन्दा ध्वस्त बनाउन बार्गेनिङ गर्ने, गुण र दोषका आधारमा नेता कार्यकर्तालाई स्थापित बनाउन नेतृत्वलाई सुझाव दिनु पर्नेमा भाग पाउनु पर्ने नत्र नमिल्ने अवस्थामा उहाँ पुग्नुभयो । एउटा बुर्जुवा पार्टीमा समेत नहुने विकृति नेपालले नै एमालेमा प्रवेश गराउनुभयो । यो पार्टी निर्माणको दृष्टिले सही हुँदै होइन् । महाधिवेशनमा कार्यकर्ताले आवश्यकताका आधारमा नेतृत्वमा निर्वाचित गरे न कि माधव नेपाल र केपी शर्मा ओली भनेर निर्वाचित गरेका हुन् । कार्यकर्ताले पार्टी जीवनलाई व्यवस्थित गर्न योग्य मध्येबाट राम्रा छानेका हुन् । यसलाई मेरो र तेरो भनेर भाग लाग्नु र बाँडिनु जुन प्रवृत्ति देखियो त्यसमा दोषी दोस्रो तहका नेता पनि हुन् । उनीहरु पार्टीमा उभिने हो, नकि नेताको फेरोमा । उनीहरुलाई त्यो सोच र दृष्टिले कार्यकर्ताले त्यहाँ पुर्याएका होइनन् ।
एमाले पहिलो पार्टी बन्न किन यत्तिका समय लाग्यो भन्ने तथ्यहरु विस्तारै खुल्दै आएका छन् । माधव नेपाल पार्टीको नेतृत्वमा रहँदासम्म एमालेले कहिल्यै सरकारको नेतृत्व गर्ने हैसियत एमालेले बनाउन सकेन ।
आज गलतलाई गलत भन्न र सहीलाई सही भन्न नसक्नहरुले कम्युनिष्ट आचरण र लोकतान्त्रिक दृष्टिकोणका बारेमा वकालत गर्न सुहाँउछ? आम कार्यकर्ताको मनमा यो प्रश्न छ । आज विभेद, असमानता, अन्यायको बिरुद्ध र समानताको लडाइँका निम्ति गरेको संगठन र यसरी नै संगठित भएका आम कार्यकर्ताको पंक्तिलाई नेताहरुले व्यक्तिगत गुट र खल्तीको बनाउने हिम्मत कहाँबाट आयो ? यो आन्दोलन प्रतिको धोका र चरम व्यक्तिवादी चरित्र होइन ? आफूले नेतृत्व नपाँउदा अर्कोलाई स्विकार्न नसक्ने कस्तो चरित्रको विकास भएको हो ? नेताहरुका व्यवहारले यो बिषय आज तलका वडा र टोल स्तरका कमिटीमा पनि देखा पर्न थालेको छ । विचार भित्रको दुई लाईन संघर्षलाई मान्न सकिन्छ तर विचार एउटै पास हुने तर नेतृत्वमा गुटबन्दी कायम राख्ने , आन्दोलन र पार्टी ध्वस्त बनाउने अभियानमा लागि रहने क्रियाकलापले पार्टी र मुलुकलाई हित गर्दैन ।
एमाले पहिलो पार्टी बन्न किन यत्तिका समय लाग्यो भन्ने तथ्यहरु विस्तारै खुल्दै आएका छन् । माधव नेपाल पार्टीको नेतृत्वमा रहँदासम्म एमालेले कहिल्यै सरकारको नेतृत्व गर्ने हैसियत एमालेले बनाउन सकेन । ‘भाइ काँग्रेस र नेकपा एमाले नपोथी न भाले’ रुपमा एमालेलाई चित्रण गर्ने अवस्था माधव नेपालकै नेतृत्वले बनाएको पिडाले नेतृत्वमा कार्यकर्ताले ओलीलाई पुर्याए । यस प्रकारको चोट गाउँ तहका कार्यकर्ताले धेरै खेप्नु पर्यो । अझ शेरबहादुर देउवाको नेतृत्वमा आधा प्रतिगमन सच्चिएको भन्दै सरकारमा सहभागी जनाउँदा कति राष्ट्र र पार्टीलाई फाइदा भयो यसको लेखाजोखा महाधिवेशनमा भएकै हो । आज पनि त्यो दुर्दशा दुर दराजका बस्तीका एमाले तप्काले झलझली सम्झेका छन् । नेपाल नै महासचिव भएका बेला बामदेव गौतम, सिपी मैनाली जस्ता नेताहरु एमाले छोडेर माले पार्टी बनाएर गएको अवस्था आज २४ वर्ष सम्म पनि ताजै छ । यस अवधिमा सयौं कार्यकर्ताले अनाहक ज्यान गुमाउनु पर्यो । बामदेव गौतम फर्किएर आएपनि उनको शैली बेला बेलामा प्रकट हुने गरेको छ ।
असल कार्यकर्ताहरुले धानेको पार्टी हो एमाले । नेतृत्वले बेला बेला क्रान्ति बिर्सने, आफ्ना गन्तब्य भुल्ने गरेको दृष्टान्त हामीसँग छ । माधव झलनाथहरु नेतृत्वमा हुँदा रामचन्द्र झा , उर्मिला अर्यालहरु माओवादीमा लस्कर लागेर जाँदा रोक्ने नेतृत्व देखिएन । अझ आठौं महाधिवेशनबाट उपाध्यक्ष बनेका अशोक राई जातीय मुद्दा उठाएर एमलेबाट विदाबारी हुनुभएको हो । संविधानसभामा ककस मार्फत शसक्त भूमिका खेलेका पृथ्वीसुब्बा गुरुङहरु पार्टीको लाइन भन्दा बाहिर जानुभएन । उहाँहरुले ओलीलाई नै नेता मानेर एमालेको नेतृत्वमा बस्नुभयो । एमालेको दोस्रो पुस्ताले आज पृथ्वीसुब्बा गुरुङको बाटो समाउने कि अशोक राईको बाटो हिड्ने ? आफैंले निर्णय गर्नुपर्ने भएको छ ।
बेला बेलामा चोइटिने गरेको एमाले सम्हालिदै आएको अवस्थामा आज माधव नेपालको यो छुद्रता देखेर विगतका घटना र नेतृत्वका बारेमा एक पटक सोच्न बाध्य बनाएको छ । माधवले गिरिजा प्रसाद कोइराला हुँदा सम्म उहाँकै आज्ञाकारी भएर बस्नुभयो । पछि प्रचण्ड, देउवाको फलिफापका लागि माधव नेपालको प्रधान भूमिका रह्यो । समग्रमा माधव नेपाल एमालेका लागि कहिले के गर्नुभयो भनेर आम कार्यकर्ताले हिसाव खोजिरहेका छन् । पार्टी निर्माणका लागि योगदान गर्ने भनेको सदस्यता लिएको बर्ष र नेतृत्वमा बसेको वर्ष गनेर हुँदैन । त्यसका लागि खास भूमिका चाहिन्छ । मदन भण्डारी कै जस्तो समय छोटै किन नहोस् । नेताहरु भित्रको कुन्ठा र आक्रोश हेर्दा लाग्छ यत्तिको झगडा भाँडाकुटी खेल्ने केटा केटीको पनि हुदैन ।
इण्डियन नेशनल कँग्रेसका पीभी नरसिंह राव पछि भारतमा ज्योति बसुलाई सन् १९९६ मा प्रधानमन्त्री बन्ने अवसर आयो । तर भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)को पोलिटब्युरो बैठकले सरकारमा सहभागीता नजनाउने निर्णय गर्यो । त्यसले भारतमा कम्युनिष्ट पार्टीको अवस्था कहाँ पु¥याएको छ । अवसर आउँदा प्रयोग गर्न नजान्दा गुमनाम हुन समय लाग्दैन । आज नेपालमा एमालेलाई पाँच बर्ष सरकार चलाउन आएको अवसरलाई माधवकुमार नेपाल पक्षधरहरुले बुझ्न सकेनन् । अझ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने हस्ताक्षर बहुदलीय व्यवस्था प्रति बितृष्णा ल्याउने खतरनाक र लज्जाबोध काम गरेका छन् । नेतृत्व प्रतिको रिस , आक्रोश पूर्ण व्यवहारले पार्टी र आन्दोलन ध्वस्त हुने दिशा तर्फ धकेल्न खोजिएको छ । कदापी एमाले कार्यकर्ताले आफ्नो आन्दोलन र पार्टीलाई ध्वस्त बनाउने अभियानमा लागेकाहरुको रुपमा देखिने चरित्र होइन उनीहरुको सार व्यवहारलाई हेक्का राख्न जरुरी छ । अव नेतृत्वले पार्टी र आन्दोलन बचाउन यस्तो प्रकारको चरित्र बोक्नेहरुलाई चिन्न र सोही अनुकुलको व्यवहार गर्ने बेला भयो ।
कुन आदर्श र विचारले निर्देशन गरेको छ हाम्रो जीवन शैलीलाई । मन्त्री नपाएसम्म पार्टीको पदको सपथ समेत नखाने भीम रावलको महत्वकांक्षा हामीले देखेकै छौं । यो तमाम समस्या हुँदा पनि फेरि एउटै घरका सदस्यहरुको स्वभाव, क्रियाशिलता फरक फरक हुन्छन् नै भन्दै पार्टी अगाडि बढिरह्यो । एउटा जीवन्त पार्टीमा घुर्की र फुर्तीले स्थानले पाउँदै जाँदा पार्टी आज बिभाजनको डिलमा आएको छ ।
एमालेको दोस्रो पुस्ताले आज पृथ्वीसुब्बा गुरुङको बाटो समाउने कि अशोक राईको बाटो हिड्ने ? आफैंले निर्णय गर्नुपर्ने भएको छ ।
कमसेकम नेताहरुले एक पटक पार्टी र मुलुकको नेतृत्वमा रहेपछि विश्राम लिनुपर्छ । त्यो नहुनु कुण्ठा र आक्रोशले भरिदा एमालेमा अहिलेको अवस्था आएको हो । विधि र प्रकृयाका बारेमा सुगा रटाइ गर्ने माधव नेपाल पक्ष कर्णालीमा दलको निर्णय वेगर प्रदेश सभामा फ्लोर क्रस गराउने, दलको नेतालाई विश्वासको मत दिन संसद उपस्थिति नहुने, आफ्नै दलका नेताले प्रधानमन्त्री दावी प्रस्तुत गर्दा विपक्षी नेतालाई प्रधानमन्त्री बनाउन दौडने, समानान्तर गतिविधि गर्ने यो सबै पार्टी हित, मुलुकको हित विपरीत काम हो । यो क्षम्य हुने हर्कत नै होइन । माधव नेपाल पक्षको हर्कत केपी शर्मा ओलीको विरुद्धको मात्रै गतिविधिका रुपमा हेर्न हुँदैन । किनकी ओली विरुद्ध मात्रै हुन्थ्यो भने पार्टी कमिटीमा आउने धारणा राख्ने निर्णय प्रक्रियामा सहभागी जनाउने हुने थियो ।
जेठ २ गते अघिको एमालेको बैठक माग्ने अनि पेरिसडाँडा नछोड्ने गतिबिधिले उनीहरुको भनाइ र गराइमा एक रुपता देखिदैन । नेकपा हुँदा प्रचण्डले १९ बुँदे आरोप पत्र नेतृत्वको विरुद्ध राख्दाको पक्षधरहरु ( माधव पक्ष ) प्रचण्डसंँग नै रहँदा सर्वोच्च अदालतले फागुन २३ गते नेकपा ( एमाले) र नेकपा माओवादी केन्द्र ब्यूताइदियो । त्यसपछि नवौं महाधिवेशनको नेतृत्वमा दशौं महाधिवेशन गर्नको लागि नेकपा ( एमाले ) जुर्मुरायो । दशौं महाधिवेशन गर्ने बेला भएको अवस्थामा एमाले बृहत एमालेको रुपमा महाधिवेशन आयोजक कमिटीमा रुपमान्तरण भयो । के समयमा महाधिवेशन गरेर नयाँ नेतृत्व हासिल गर्नु पर्दैन ? एमालेको नवौं महाधिवेशन भएको ७ कति बर्ष भयो हेक्का होला नि नेताहरुलाई । नेकपा रहदा मुल नेतृत्व केपी शर्मा ओली नै हो त्यही नेतृत्वमा रहेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापा, प्रभू साह लगाएतका नेताहरु एकताको मर्म र भावना अनुसार पार्टीको नाम एमाले भएपनि उहाँहरु एकताकै पक्षमा उभिनुभयो । आज माधवपक्षहरु नत एमाले बन्न सक्नु भएको छ । नत १९ बुदे आरोपको पक्षमा उभिएर प्रचण्डको नेतृत्वको पार्टीमा रहनु भएको छ ।
सैद्धान्तिक र वैचारिक हिसावले एमालेको लिगेसी समाउने हो भने अहिले पनि माधव पक्षहरु एमाले नै हुनुपर्छ । नेपाली कम्युनिष्ट आन्दोलनको शान्तिपूर्ण जनक्रान्तिका माध्यमबाट नेपाली समाजको रुपान्तरण सम्भव देख्नेहरु जनताको बहुदलीय जनवादलाई अंगिकार गर्ने धू्रव मै रहनुपर्छ । शसस्त्र सघर्षको धार प्रचण्डले नेतृत्व गरेको धार हो । त्यो समाउने हो भने विना हिकिचावट उतै उभिनुपर्छ । होइन भने सिपी मैनालीहरुकै अबस्था हुने छ । एजेन्डा बिहिन तरिकाले देश र समाजलाई अध्यारोमा धकेल्ने अनी त्यसपछि माफी मागेर, आत्मालोचना गरेर भएपनि एमाले हुन्छु भन्ने घनश्याम भूसालहरुको भनाइ पुन बामदेव, सिपी मैनाली नेतृत्वमा रहेर एमाले सक्न माले गठन गरेको अबस्था भन्दा भिन्न रुप हुँदै होइन । अहिले समानुपातिक छ त्यत्ति बेला थिएन भन्ने आशा छ भने पनि एमाले पंक्तिले त्यो स्वीकार गर्ने अवस्थामा छैन ।
नेतृत्वले समयमै विधि र प्रकृयामा पार्टी चलाउनु पर्छ । सम्झौताले पार्टी चलाउने अभ्यास थालिदा लथालिङको अवस्था आउँछ हाम्रोमा लोकतन्त्र सम्झौताको बनाउने प्रप्रच्च हुँदैछ । परिपूर्ण लोकतन्त्रको अभ्यास थाल्नुपर्छ अनी मात्र विधि प्रकृयामा अगाडि बढ्न सकिन्छ । पार्टी नेतृत्व बिधि सम्वत् निर्णय गरि अगाडि बढोस् आम कार्यकर्ताको चाहाना यहि छ ।
यूवा नेता गिरी नेकपा ( एमाले) गण्डकी प्रदेश प्रचार विभाग सदस्य हुनुहुन्छ ।
प्रतिक्रिया