अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनाव गराइँदैन भन्ने कुप्रचार भयोः प्रधानमन्त्री

चुनाव गराइँदैन भन्ने कुप्रचार भयोः प्रधानमन्त्री


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चुनाव गराउँदैन भन्ने कुप्रचार गरेको बताउनुभएको छ ।

गणतन्त्र दिवसका अवसरमा काठमाडौंमा शनिबार भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्ता दुश्प्रचारको भ्रममा नपर्न आह्वान गर्नुभएको छ । ‘आवधिक निर्वाचन लोकतन्त्रको आधारभूत पक्ष हो।निर्वाचनले जनादेशलाई पुनर्ताजगी गर्न र निर्वाचनपछि बन्ने सरकारलाई सुदृढ बनाउन जनअपेक्षाअनुसार काम गर्न उत्प्रेरित गर्दछ।यसै अभिप्रायका साथ आगामी कात्तिक २६ र मंसीर ३ गते दुई चरणमा आम निर्वाचन सम्पन्न गर्ने घोषणा भएको छ । यतिबेला चुनाव हुँदैन र गराईँदैन भन्ने भ्रमपूर्ण प्रचार तथा चुनाव स्वतन्त्र र निश्पक्ष हुँदैन भन्ने कुप्रचार दुवै अत्यन्त निराधार छन् । यस्ता दुश्प्रचारको भ्रममा नपर्न म सबैमा आह्वान गर्दछु’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकार निर्वाचनमा जानुपर्ने अवस्थाको सिर्जना आज कसरी भयो भन्ने स्पष्ट पार्नुभएको छ । ‘मुलुक निर्माणको एउटा दृष्टिकोण, एउटा सोच र एउटा अभियानअनुरुप जारी घोषणापत्रअनुसारको जनअनुमोदनबाट आएको सरकारले चालेका जनमुखी कदमहरू यहाँहरुसमक्ष अवगत नै छन् । तर सरकारका हरेक पाइलामा हामीले व्यवधान, घेराबन्दी र विरोध मात्रै सामना गरिरहनु परेको छ।जनताका लागि होइन, सत्ता आकाङ्क्षी समूहका लागि मात्रै मुलुकको लोकतान्त्रिक प्रणालीलाई दुरुपयोग गर्ने यस प्रवृत्तिको छिनोफानो गर्ने अब जनताले नै हो। मुलुकको अमूल्य समयलाई यस्तो अकर्मण्यता र अनुशासनहीनतामा खेर जानबाट रोक्न जनतासँग ताजाजनादेश माग्नु एकमात्र विकल्प हुन पुग्यो।सबै दलहरूले आफूलाई जनपरीक्षण गर्ने अवसर पनि यस क्रममा नै प्राप्त गर्ने छन् । तसर्थ सरकार आगामी आमनिर्वाचनलाई निर्धारित समयमा नै स्वच्छ, निश्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्न प्रतिबद्ध छ,’ प्रधानमन्त्रीको भनाइ छ ।

यो पनि पढ्नुहोस्

गणतन्त्र जनताको इच्छामा शासन हुने व्यवस्था : प्रधानमन्त्री (सम्बोधनको पूर्ण पाठ)