काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो बजेट आज प्रस्तुत गर्नुभयो । अर्थमन्त्री पौडेलकाअनुसार संघीय सरकारले खर्च गर्ने चालू खर्चतर्फ ६ खर्ब ७८ अर्व ६१ करोड रुपैयाँ विनियोजन गरेको छ । यो कुल बजेटको ४१.२ प्रतिशत हो ।
त्यस्तै, पुँजीगततर्फ तीन खर्ब ४७ अर्व रुपैयाँ छुट्याएको छ । त्यो कुल बजेटको २२.७ प्रतिशत हो । सोहीअनुसार वित्तिय व्यवस्थातर्फ २ खर्ब ७ अर्व ९७ करोड रुपैयाँ विनियोजन गरेको छ । यो कुल बजेटको १२.६ प्रतिशत हो ।
अर्थमन्त्री पौडेलले शनिबार ४ बजेर १० मिनेटमा बजेट प्रस्तुत गर्न सुरु गर्नुभएको थियो । ६ बजेर ५३ मिनेटमा सम्पन्न गर्नुभयो ।
उहाँलाई बजेट प्रस्तुत गर्न पौने तीन घण्टा समय लागेको थियो । अध्यादेशमार्फत ल्याइएको यस आवको बजेटमा धेरै लोकप्रिय कार्यक्रम समेटिएका छन् ।
बजेटमा यस्ता छन् लोकप्रिय कार्यक्रम :
१. ज्येष्ठ नागरिक भत्ता वृद्धि- मासिक ४ हजार रुपैयाँ ।
२. आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने ।
३. शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने, ब्याजदर ५ प्रतिशत ।
४. लघु, घरेलु, साना उद्यम, वैदेशिक रोजगारीमा फर्किएका युवालाई ५ प्रतिशत ब्याजदरमा सहुलियत दिन बजेट विनियोजन ।
५. तरकारी, दूध र माछा-मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान पाउने ।
६. विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार कर्जा र सिम कार्ड निःशुल्क दिने ।
७. निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट ।
८. तीन वर्षभित्र रासायनिक मल कारखाना स्थापनाका लागि काम सुरु गरिने ।
९. निषेधाज्ञामा खाद्य कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र ग्यास किन्दा २० प्रतिशत छुट ।
१०. गरिबी निवारण कोष खारेज ।
११. स्टार्टअप व्यवसायलाई परियोजना धितो राखेर १ प्रतिशत ब्याजमा २५ लाखसम्म कर्जा ।
१२. पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार, ७ लाखको दुर्घटना बीमा ।
१३. नेपाल टेलिकमका प्रयोगकर्तालाई २२ प्रतिशत शेयर ।







प्रतिक्रिया