अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार महासंघद्वारा सरकारले ल्याएको बजेटको स्वागत

पत्रकार महासंघद्वारा सरकारले ल्याएको बजेटको स्वागत


काठमाडौं- नेपाल पत्रकार महासंघले सरकारले शनिबार अध्यादेशमार्फत प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ बजेटको स्वागत गरेको छ । महासंघमा महासचिव रोशन पुरीले आइतबार विज्ञप्ति जारी गर्दै बजेट सकारात्मक रहेको बताउनुभएको छ ।

बजेटमा महासंघले उठाएको मागको सुनुवाइ भएको बताउँदै महासंघले त्यसलाई सकारात्मक रूपमा लिँदै कार्यान्वयनका लागि आग्रह गरेको छ । ‘नेपाल सरकारका तर्फबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हिजो प्रस्तुत गर्नुभएको बजेटमा सञ्चार क्षेत्रमा विनियोजन गरेको बजेटलाई नेपाल पत्रकार महासंघले सकारात्मक रुपमा लिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

बजेटमा महासंघले प्रस्ताव गरेअनुसार सञ्चार क्षेत्रका लागि समावेश भएका केही विषयहरु सराहनीय रहेको महासंघले बताएको छ । यसअघि महासंघका पदाधिकारीले गत वैशाख ७ गते मन्त्री पौडेलसँग छलफल गरेर माग प्रस्तुत गरेको थियो । ‘बजेटमा उल्लेख भएका सञ्चार क्षेत्रका सबै व्यवस्थाको समयमै कार्यान्वयन गर्न थप नीतिगत व्यवस्था गर्न आवश्यक छ,’ महासचिव पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यस आ.व.को बजेटमा श्रमजीवी पत्रकारका लागि ७ लाखसम्मको दुर्घटना बीमामा ५० प्रतिशत प्रिमियम सरकारले दिने, नेपाल पत्रकार महासंघका सदस्यको देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यवस्था गर्ने भनिएको छ ।

त्यस्तै, आगामी आर्थिक वर्षभित्र आम सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने, महासंघको निर्माणधिन भवन सम्पन्न गर्न आवश्यक रकमको विनियोजन, प्रेस संग्रहालयको स्थापना गर्ने, कोभिडबाट प्रभावित भइ रोजगारी गुमाएका पत्रकारलाई लेखनवृत्ति र सञ्चारगृहलाई पुनरकर्जा तथा व्यवसायिक निरन्तरता कर्जा सुविधा दिने, पत्रकार कल्याणकारी कोषको कार्यान्वयन गर्ने प्रतिवद्धता बजेटमा गरिएको छ ।

सोहीअनुसार सरकारी विज्ञापन सबै प्रकारका पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमलाई न्यायपूर्ण पहुँचका आधारमा सुनिश्चित गरिने र सञ्चार गृहको आर्थिक वर्ष ७८(७९ को इजाजत तथा नवीकरण दस्तुर छुट दिई स्वतः नवीकरण हुने व्यवस्था सरकारले गरेको छ ।