अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजै मतपरिणाम आउने

लुम्बिनी राष्ट्रियसभा उपनिर्वाचन : २ सय ९७ जनाद्वारा मतदान, तीन जनप्रतिनिधि भने अनुपस्थित

लुम्बिनी राष्ट्रियसभा उपनिर्वाचन : २ सय ९७ जनाद्वारा मतदान, तीन जनप्रतिनिधि भने अनुपस्थित


बुटवल- लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको उपनिर्वाचनमा २ सय ९७ जनाले मतदान गरेका छन् । आज भएको मतदानमा ३ सय मतदातामध्ये तीन जना भने उपस्थित हुन सक्नु भएन ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा, नरैनापुर गाउँपालिका बाँकेका अध्यक्ष मोहम्मद इस्तियाक साह र गुल्मीको दरबार गाउँपालिका अध्यक्ष अशोक थापाले मतदान नगर्नु भएको हो ।

राणाले सार्वजनिक रूपमै निर्वाचन बहिष्कार गरेकाले मतदान नगरेको बताइएको छ । त्यस्तै, नरैनापुर गाउँपालिका अध्यक्ष साह र दरबार गाउँपालिका अध्यक्ष थापा भने बिरामी भएका कारण मतदानस्थलमा आउनसक्नु भएन ।

स्थानीय तहका तीन जना जनप्रतिनिधि उपस्थित नभए पनि प्रदेश सभाका भने सबै ८३ जनाले मत खसालेका छन् ।

तीन बजेपछि मुचुल्का उठाएर मतगणना सुरु हुनेछ । मतपरिणाम आजै आउनेछ ।

माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त भएको पदमा उपनिर्वाचन गरिएको हो ।

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा दुई जना उम्मेदवार छन् । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का प्रतिस्पर्धामा हुनुहुन्छ ।