अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना खोप जुटाउन राष्ट्रपतिको सक्रियताको प्रशंसा

कोरोना खोप जुटाउन राष्ट्रपतिको सक्रियताको प्रशंसा


 

काठमाडौं– कोरोना खोप जुटाउन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको सक्रियताको प्रशंसा भएको छ ।

जनतालाई कोरोना भाइरसबाट बचाउन कार्यकारी भूमिकामा रहेका प्रधानमन्त्री र सरोकारवाला निकाय परराष्ट्र मन्त्रालयले मित्रराष्ट्र तथा छिमेकी मुलुकसँग कूटनीतिक पहल गर्नुपर्नेमा आलंकारिक राष्ट्रपतिले पहल गरेको र त्यसले सकारात्मक नतिजा पनि देखिएको भन्दै प्रशंसा भएको हो ।

गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङसँग टेलिफोन संवाद गरेसँगै चिनियाँ समकक्षीले कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाललाई दिने प्रतिबद्धता जनाउनुभएको थियो । कोरोना महामारीले विश्व आक्रान्त भइरहेका बेला कोरोनाविरुद्धको खोप खरिद गर्दा समेत नपाइरहेको अवस्थामा नेपालका समकक्षीसँगको छलफललगत्तै चिनियाँ राष्ट्रपतिले सहयोगस्वरूप खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि त्यो विषयले चर्चा पाएको छ।

कोरोनाविरुद्धको खोप सहयोग गर्न राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षीसँग कुरा गर्नुभन्दा पहिले नै भारतीय समकक्षीलाई पनि पत्र लेख्नुभएको थियो । उहाँले खोप उत्पादक मुलुक अमेरिका, रुस र बेलायतलाई पनि खोप सहयोग गर्न आग्रह गर्दै पत्र लेख्नुभएको छ ।

राष्ट्रपतिको यो सक्रियतालाई कतिपयले आलंकारिक राष्ट्रपति संविधानले दिएको अधिकारभन्दा बाहिर गएको भन्दै प्रश्नसमेत उठाएका छन्।