अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आमा-छोरीलाई आगो लगाउने दोषीलाई कडा कारवाही गर्न प्रहार संस्थाको माग

आमा-छोरीलाई आगो लगाउने दोषीलाई कडा कारवाही गर्न प्रहार संस्थाको माग


काठमाडौं- महिला हिंसाविरुद्ध क्रियाशील संस्था प्रहारले डोटीमा श्रीमती र छोरीलाई ज्यान मार्ने उद्देश्यले आगो लगाउने व्यक्तिलाई तत्काल पक्राउ गर्न आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै सो संस्थाले तत्काल पक्राउ गरी दोषी उपर कडा कानुनी कारवाही गर्न आग्रह गरेको हो ।

‘घटनाको एक साता बितिसक्दा पनि अपराधी को हो पत्ता लाग्न सकेको छैन । केही समयदेखि श्रीमानको हिंसा सहँदै आएकी लक्ष्मीलाई आगो लगाएर छोरीसहित हत्या गरिन खोज्नु, घटनाको दिन कान्छी श्रीमतीसँगै रहेका श्रीमान् सन्तोष घटनालगत्तै फरार हुनु र लक्ष्मीको उपचार अभावमा ज्यान जान लाग्दासमेत सन्तोष सम्पर्कमा नआई बेखर हुनुले यो घटनामा सन्तोषलाई शंका गर्ने थुप्रै आधारहरू देखाइरहेको छ,’ संस्थाका अध्यक्ष प्रकाश चन्दद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लक्ष्मी र उनकी छोरामाथि यो घटना घटाउने अपराधीलाई तत्काल पक्राउ गरी दोषीउपर कडाभन्दा कडा कानुनी कारवाही गरी लक्ष्मीलगायत सिङ्गो समाजलाई कानुनी राज्यको महसुस दिलाउन यो संस्था प्रहरी प्रशासनसँग जोडदार माग गर्दछ ।’

यो घटनाप्रति संस्थाको गम्भीर ध्यानकर्षण भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘डोटीको आदर्श गाउँपालिका-४ रोडिङ्गे गाउँकी २८ वर्षीया लक्ष्मी भाट र उनकी दुई वर्षकी छोरी अन्जुमाथि प्रज्वलनशील पदार्थ फालेर हत्या प्रयास गरिएको घटनाप्रति महिला हिंसाविरुद्ध क्रियाशील संस्था प्रहारको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

घटनाको उल्लेख गर्दै विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यही जेठ १२ गते आफ्नै पसलमा सुतिरहेका आमाछोरीमाथि रातको करिब साढे १२ बजेतिर अज्ञात व्यक्तिले प्रज्वलनशील पदार्थ छर्केर आगो लगाएका थिए । कोठाभरी आगो दन्किएपछि काखमा छोरी च्यापेर बाहिर निस्किन खोज्दा हत्या प्रयास गर्ने व्यक्तिले उनी सुतेको कोठा बाहिरबाट बन्द गरिदिएको र उनी जोरजोरले चिच्याउन थालेपछि मात्रै छिमेकीले ढोका खोलेर उद्धार गरेका थिए ।’

घटनालगत्तै लक्ष्मीलाई डोटीकै राजपुरस्थित सुजङ अस्पतालमा भर्ना गरिएको थियो । तर, अस्पतालले थप उपचारका लागि जिल्ला बाहिर लैजानुपर्ने बताए पनि परिवारको कमजोर आर्थिक अवस्थाका कारण उहाँ पाँच दिनदेखि अस्पतालमै रहनुभएको थियो । यद्यपि, हिजो (सोमबार) वन तथा वातावरण मन्त्री प्रेम आलेमगरको विशेष पहलमा प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल र गृहसचिव महेश्वर न्यौपानेको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरले लक्ष्मीको उद्धार गरी काठमाडौंको कीर्तिपुरस्थित वर्न अस्पतलामा उपचार सुरु भएको छ ।

घटनालगत्तै लक्ष्मीका श्रीमान् सन्तोष भाट भने फरार छन् । लक्ष्मी सन्तोष भाटकी जेठी श्रीमती हुन् । सन्तोषले लक्ष्मी र तीन छोरीलाई छोडेर तीन वर्षअघि वहुविवाह गरी पछेरी गाउँ बस्दै आएका बताइएको छ । उनकी कान्छी श्रीमतीबाट एक छोरा छन् ।

घटनाको दिन जेठी छोरी अनु (७ वर्ष), माइली छोरी अनिशा (४ वर्ष) आमासँग नरहेको र दुई वर्षकी कान्छी छोरी अन्जु मात्रै लक्ष्मीसँग रहेका थिए । कोठाभरी आगो सल्किदा अञ्जुलाई लक्ष्मीले काखमा बोकेर आफ्नो शरीरको आगो निभाउने प्रयास गर्दा अन्जु सामान्य घाइते हुनु भएको छ ।