काठमाडौं– एमाले एकता कि विभाजन आज टुंगो लाग्ने भएको छ । माधव नेपाल पक्षले बिहान ११ बजे केन्द्रीय कमिटीको भर्चुअल बैठक बोलाएको छ भने संस्थापन पक्षको स्थायी कमिटी बैठक अपरान्ह चार बजेलाई डाकिएको छ ।
केही दिन देखि एकताका प्रयासहरुले आकार लिंदै गर्दा माधव पक्षले आज ११ बजे बैठक बोलाएर ती नेताहरुको अवस्था जाँच गर्न खोजेको छ । माधव नेपालका पिलरका रुपमा रहेका सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहितका नेताहरुले प्रधानमन्त्रीलाई साथ दिने आशय प्रकट गरेपछि उहाँहरुलाई जाँच्नका लागि नेपालले आज बैठक बोलाउनुभएको हो । ‘आज ११ बजेको बैठकमा सहभागी भए स्थायी कमिटीले उहाँहरुलाई दिउँसो पार्टीबाट निस्काशन गर्छ,’ संस्थापन पक्षका एक नेताले भन्नुभयो, ‘सहभागी नभए उहाँहरु माथि सोधिएको स्पष्टीकरण फिर्ता लिन्छ र पार्टी काममा फर्काउँछ ।’
मझधारमा रहेका नेताहरुका लागि आज दुवै पक्षले आयोजना गरेका बैठक परीक्षा भएका छन् ।
एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले एकताको आश अझै मरिनसकेको बताउनुभएको छ । ‘वातावरण बनिदै भत्किदै गरेको छ । अहिले पनि हामी संवादमै छौं,’ नेम्वाङले नेपाली बहस डट कमसँग भन्नुभयो, ‘आश अझै मरेको छैन ।’
नेता नेपालले बुधबार आयोजना गरेको जनवर्गीय संगठनको भेलामा ती नेताहरुलाई छोडेर अघि बढ्नु सुझाव दिइएको थियो । नेता नेपालले पनि आफूलाई दोस्रो पुस्ताका नेताको आश नभएको बताउनुभएको थियो ।







प्रतिक्रिया