अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

७१ औँ अन्नपूर्ण आरोहण दिवस

नेपालको पर्यटन क्षेत्रमा सधैँ फ्रान्सको सहयोग रहन्छ : राजदूत लेगर

नेपालको पर्यटन क्षेत्रमा सधैँ फ्रान्सको सहयोग रहन्छ : राजदूत लेगर


पोखरा- ७१ औँ अन्नपूर्ण आरोहण दिवसको अवसरमा नेपाल पर्वतारोहण संघ केन्द्रिय कार्यसमिती र गण्डकी प्रदेश कार्यसमितिले संयूक्त रूपमा ‘अन्नपूर्ण हिमालमा महामारीको प्रभाव’ विषयमा अन्तरक्रिया गरेको छ । अन्तरक्रिया भर्चुअल माध्यमबाट भएको हो ।

सन् १९५० मा फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले पहिलो पटक अन्नपूर्ण हिमालको आरोहण गरेको दिनलाई संघले आरोहण दिवसको रूपमा मनाउँदै आइरहेको छ ।

नयाँ भेरियन्टको कोरोना (कोभिड-१९) भाइरसको संक्रमणका कारण भर्चुअल माध्यमबाट सांकेतिक रूपमा आयोजना गरिएको यस अन्तरक्रिया कार्यक्रममा नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्कोइस-जेभियर लेगरले अहिलेको माहामारीबाट पीडित बनेको नेपालको पर्वतीय पर्यटन क्षेत्रले निकट समयमै फेरि पहिलेकै अवस्थामा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालका सबै किसिमका विपद्हरूमा फ्रान्स सरकारबाट सक्दो सहयोग उपलब्ध गराइरहेको स्मरण गर्नुहुँदै राजदूत लेगरले अहिलेको नयाँ भेरियन्टको कोरोना महामारीसँग जुध्नका लागि फ्रान्स सरकारकातर्फबाट स्वास्थ्य सामग्रीहरू नेपाल सरकारलाई हिजै मात्र हस्तान्तरण गरिएको जानकारी दिनुभयो । साथै, उहाँले नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा संघसँग मिलेर कार्य गर्न सधैँ तयार रहेको समेत बताउनुभयो ।

त्यस्तै, कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगकासदस्य जुद्धबहादुर गुरुङले नेपालको पर्वतीय पर्यटनको इतिहास सुरुवात अन्नपूर्ण हिमाल आरोहणबाट भएकोले यस इतिहासलाई कसैले पनि भूल्न नहुने बताउनुभयो । अहिलेको महामारीबाट पर्वतीय पर्यटनका क्षेत्रमा परेको असरलाई कम गरी पूनरुत्थानका कार्यक्रमहरू ल्याउनतर्फ सबैले ध्यानदिन पर्ने बताउनुहुँदै उहाँले अन्नपूर्ण हिमालको अझै पनि व्यापक रूपमा प्रचारप्रसार गर्न नसकिएको बताउनुभयो ।

त्यस्तै, कार्यक्रममा संंघका सल्लाहकार एवं राष्ट्रिय योजना आयोगका पूर्वसदस्य गणेश गुरुङले मौरिस हर्जोग र उहाँको टोलीले प्रथम पटक अन्नपूर्ण हिमालको आरोहण गरी नेपाल र नेपालको हिमाललाई विश्व समुदायमा परिचित गराएको बताउनुभयो । उहाँले मौरिस हर्जोगले लेखेको अन्नपूर्ण किताबलाई नेपाली भाषामा अनुवाद गरी प्रकाशन गर्न सके यसले नेपालको पर्वतीय पर्यटनलाई थप सहयोग पुग्नेसमेत बताउनुभयो ।

सो कार्यक्रममा अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष युवराज कुँवर र अन्नपूर्ण गाउँपालिका म्याग्दीका अध्यक्ष क्याप्टेन दाम पुनले अन्नपूर्ण हिमालको प्रचार-प्रसार र हिमाल आरोहण गर्न जाने मार्गहरूको व्यवस्थित गर्ने कार्यमा सबैको सहयोगको अपेक्षा रहेको बताउनुभयो । उहाँहरूले गाउँपालिकाहरूबाट यस क्षेत्रमा भइरहेका प्रयासहरूका सम्बन्धमा पनि प्रकाश पार्नु भएको थियो ।

त्यस्तै, संघका गण्डकी प्रदेश कार्यसमितिका अध्यक्ष शेषकान्त शर्माले अन्नपूर्ण हिमाल आरोहणका इतिहास, यस कार्यमा भइरहेका प्रयास र प्रदेश कार्यसमितिबाट भइरहेका गतिविधिहरूका सम्बन्धमा प्रकाश पार्नु भएको थियो ।

उक्त कार्यक्रममा यस बसन्त ऋतुमा सफलतापूर्वक अन्नपूर्ण हिमालको आरोहण गरी फर्कनु भएको ६ जना महिला आरोहीहरूकातर्फबाट आफ्ना अनुभवहरू आरोही शर्मिला स्याङ्तान तामाङले राख्नु भएको थियो ।

त्यसक्रममा उहाँले विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमालहरूको आरोहण गर्ने लक्ष्य आफूले लिएर चढिरहेको बताउँनुहुँदै उहाँले अत्यन्तै अप्ठ्यारा भएपनि अन्नपूर्ण हिमालको सफलआरोहण गरेको बताउनुभयो ।

संघका अध्यक्ष सन्तवीर लामाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव कुलबहादुर गुरुङले गर्नुभएको थियो । कार्यक्रममा गण्डकी प्रदेश कार्यसमितिका सचिव सुदिप गौतमले स्वागत मन्तव्य राख्नु भएको थियो ।