काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले छुवाछुतविरुद्ध दृढतापूर्वक क्रियाशील रहन सबैमा अपील गर्नुभएको छ ।
जातीय भेदभाव तथा छुवाछुतविरुद्धको दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले छुवाछुत प्रथा सभ्य समाजका लागि अस्वीकार्य रहेको भन्दै यस कुप्रथाको समूल अन्त्य गर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत र समतामूलक समाज निर्माणका लागि समग्र सांस्कृति रुपान्तरणको खाँचो औंल्याउनुभयो ।
‘जातीय विभेद सामाजिक, नैतिक, मानवीय गरिमाविरुद्धको अपराध हो । त्यसैले जातीय भेदभाव तथा छुवाछुत प्रथाविरुद्ध दृढतापूर्वक क्रियाशील रहन सबैमा आह्वान गर्दछु,’ राष्ट्रपतिको वक्तव्यमा भनिएको छ, ‘सामाजिक जागराणबाट सबैमा समभावको विकास गर्न तथा सबै जातजाती र समुदायबीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना अभिबृद्धि गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनु यो दिवसले सबैलाई अभिप्रेरित गर्नेछ ।
२०६३ जेठ २१ गते सरकारले नेपाललाई जातीय भेदभाव र छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो । २०६८ सालदेखि यसलाई दिवसका रुपमा मनाउन थालिएको हो । कोरोना महामारीका कारण अधिकांश स्थानमा निषेधाज्ञा लागू भएका कारण यस वर्ष दिवसका अवसरमा औपचारिक कार्यक्रम रहने छैन ।







प्रतिक्रिया