अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवाद्वारा प्रजातन्त्र सेनानी श्रेष्ठको निधनप्रति दुःख व्यक्त

देउवाद्वारा प्रजातन्त्र सेनानी श्रेष्ठको निधनप्रति दुःख व्यक्त


काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको प्रजातान्त्रिक आन्दोलनका योद्धा, पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं प्रजातन्त्र सेनानी महेश्वरलाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँको आज बिहान काठमाडौँको ओम अस्पतालमा उपचारका क्रममा ८४ वर्षको उमेरमा निधन भएको हो ।

सभापति देउवाले शोक विज्ञप्तिमार्फत उहाँले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याउनुभएको सक्रिय योगदान सदा स्मरणीय रहने उल्लेख गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

नेपाली कांग्रेस चितवनका सल्लाहकार समितिका संयोजकसमेत रहनुभएका स्व श्रेष्ठ कांग्रेसमा एक सरल र निष्ठावान् नेताका रुपमा चिनिनुहुन्थ्यो । कांग्रेसका संस्थापक नेता विपी कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंहलगायत शीर्ष नेतासँगको सहयात्रीका रुपमा रहेर श्रेष्ठले प्रजातन्त्र प्राप्तिका लागि भएका सङ्घर्ष र आन्दोलनमा सक्रिय योगदान पुर्‍याउनुभएको थियो ।

यसै क्रममा तत्कालीन पञ्चायती व्यवस्थाले उहाँको सम्पत्तिसमेत सर्वस्वहरण गरेको थियो र लामो समयसम्म प्रवासमा बस्नुका साथै जेल जीवनसमेत व्यतीत गर्नुभएको कांग्रेसले जनाएको छ । उहाँको निधनबाट कांग्रेसले एक अग्रज र अनुभवी नेतालाई गुमाएको उल्लेख गरेको छ ।