सुर्खेत- नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको सचिवालय बैठकले महत्वपूर्ण चार निर्णय गरेको छ । आज पार्टी कार्यालयमा बसेको बैठकले २०७२ जेठ २ मा रहेको एमाले जिल्ला कमिटी र नेकपा एकता हुँदा रहेका १४५ मध्य एमालेका रहेका सबै नेताहरूसहित पार्टी समायोजन प्रकृयाबाट सहभागीको जिल्ला कमिटी निर्माण गर्नेसहित चार निर्णय गरेको हो ।
त्यस्तै, बैठकले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध विपक्षी गठबन्धनसँग सहभागी भएर आन्दोलनको आह्वान गर्ने र एमाले जिल्ला कमिटी पुनर्गठन गरी अध्यक्ष भएका जिल्ला कमिटी सचिव मोहन बडुवाललाई सचिव पदबाट मुक्त गर्ने, उक्त कमिटी र गतिविधिमा सहभागी निर्वाचित जनप्रतिनिधिलाई किन लागेको भनी स्पष्टीकरण सोध्ने निर्णयसमेत निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बैठकले स्थानीय तहमा कमिटी बैठक गर्न समयसीमा समेत तोकेको छ । उक्त बैठकमा सम्बन्धित तहका कमिटी पदाधिकारी र सदस्यसहित सो तहमा रहेका जिल्ला कमिटी, पूर्वजिल्ला कमिटी र माथिल्ला कमिटीका नेता र जनवर्गीय संगठनका नेतृत्वमा रहेका सदस्य सहभागी हुनेछन् ।
त्यस्तै, बैठकले कर्णाली प्रदेश सभामा एमालेको स्पष्ट बहुमत हुँदाहुँदै पार्टीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव राख्दा राजनीतिक अपराध गरी सरकारको पक्षमा भोटहाली मन्त्रीसमेत भएका तीन मन्त्रीलाई सामाजिक बहिष्कार गर्न सम्पूर्ण मातहत कमिटी र पार्टी सदस्यलाई आह्वान गर्ने निर्णयसमेत गरेको छ ।
बैठकले आगामी असार ५ गते पार्टी जिल्ला कमिटीको बैठक बोलाउनेसमेत निर्णय गरेको छ । साथै, बैठकले पार्टी एकताको पक्षमा लाग्न र एकताबद्ध एमाले निर्माणका लागि केन्द्रीय कमिटी र नेतृत्वलाई अपिल गरेको छ ।
आजको बैठकमा १६ जना सचिवालय सदस्यमध्ये अध्यक्ष ध्रुवकुमार शाही, उपाध्यक्ष अमृत बिसीसहित कमला शर्मा, गगनसिह सुनार, ऐनबहादुर चन्द, ईन्द्र केसी, घनश्याम पाण्डे, कवीन्द्र केसी, डण्डीप्रसाद शर्मा, राजु गुईदेल, गणेश वली, टिकाराम शर्मा, हरि अधिकारी र बखतबहादुर खत्रीको उपस्थिति थियो।
बैठकमा प्रदेश ईन्चार्ज यामलाल कँडेल र अनुशासन आयोगका सदस्य बालाराम शर्मा पनि विशेष सहभागीको रूपमा उपस्थित हुनुहुन्थ्यो ।







प्रतिक्रिया