अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद् विघटन मुद्दा : निष्पक्ष फैसला हुनेमा विश्वास छैन- अग्नि खरेल

संसद् विघटन मुद्दा : निष्पक्ष फैसला हुनेमा विश्वास छैन- अग्नि खरेल


काठमाडौं- पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइ भइरहेको संवैधानिक इजलासबाट स्वच्छ र निष्पक्ष फैसला हुनेमा विश्वास नरहेको बताउनुभएको छ ।

आज संवैधानिक इजलासमा उहाँले न्यायाधीश दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईमाथि प्रश्न उठाउँदै उहाँहरूले इजलास छाड्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रश्न उठीउठी श्रीमानहरूले बसेर फैसला गर्नुपर्ने कुनै बाध्यता छैन ।’

संसद विघटन मुद्दा सुनुवाइका लागि यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेको इजलास गठन गरिएको थियो । तर, उक्त इजलासमा रहेका न्यायाधीश श्रेष्ठ नेकपा विभाजन र केसीले उक्त मुद्दाको पुनरावलोकन अस्वीकार गर्ने इजलासमा रहेको भन्दै रिट निवेदक पक्षले प्रश्न उठाएका थिए ।

जेठ १८ गते न्यायाधीश केसी र श्रेष्ठले नेकपा विवाद र संसद विघटन अलग अलग मुद्दा रहेको भन्दै आफूहरुले संसद विघटनको मुद्दा हेर्न मिल्ने राय दिएका थिए । तर, न्यायाधीश कार्की र भट्टराईले भने प्रश्न उठेपछि न्यायाधीश केसी र श्रेष्ठ बस्न नमिल्ने राय दिए र उनीहरू बस्ने भए आफूहरु उक्त इजलासमा नबस्ने बताउनुभयो ।

वरिष्ठ अधिवक्तासमेत रहेका पूर्वमहान्यायाधिवक्ता खरेलले इजलासमा बस्ने कि नबस्ने भन्ने विषय सम्बन्धित न्यायाधीशको रोजाइ हुनुपर्ने बताउनुभयो । ‘नेकपाको विवादको मुद्दा फैसला गर्ने न्यायाधीशले म मुद्दा हेर्न सक्छु भने भनिरहेको बेला अरू दुई जना श्रीमानले उहाँहरु बस्ने भए हामी बस्दैनौं भन्न मिल्थ्यो र?,’ खरेलले भन्नुभयो, ‘तेजबहादुर श्रीमान् र बमकुमार श्रीमानले यो इजलासमा बस्छौं भनेर राय दिएपछि अनि उहाँहरूलाई किन इजलासमा राखिएन?’