अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतमा कोरोना : २४ घण्टामा दुई महिनायताकै कम व्यक्तिमा संक्रमण

भारतमा कोरोना : २४ घण्टामा दुई महिनायताकै कम व्यक्तिमा संक्रमण


नयाँदिल्ली- भारतमा विगत २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) बाट एक लाख १४ हजार व्यक्ति संक्रमित भेटिएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार कोभिड-१९ को दोस्रो लहरको मध्यमा दैनिक चार लाखभन्दा बढी संक्रमित भेटिएकामा पछिल्लो संख्या विगत दुई महिनायताकै सबैभन्दा कम दैनिक संक्रमण हो ।

भारतमा योसहित कूल दुई करोड ८८ लाख व्यक्ति कोभिड संक्रमित भएका छन् जसमध्ये दुई करोड ७० लाख संक्रमणमुक्त भएका छन् ।

कोभिड–१९ को दोस्रो लहरबाट सर्वाधिक असर परेको भारतमा विगत २४ घण्टामा थप दुई हजार ६७७ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । योसहित भारतमा कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन लाख ४६ हजार ७५९ पुगेको छ ।

भारतमा अझै पनि १४ लाख ७८ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । विगत २४ घण्टामा कूल सक्रिय संक्रमितको संख्यामा ७७ हजारले कमी आएको छ । विगत केही दिनदेखि सक्रिय संक्रमितको संख्यामा पनि कमी आउन थालेको मन्त्रालयले जनाएको छ ।

गत जनवरी १६ बाट खोप लगाउन थालेको भारतमा हालसम्म २३ करोड १० लाख डोज खोप लगाइएको छ ।

यसैबीच, भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले देशभर हालसम्म ३६ करोड ४० लाख नमुना परीक्षण गरेको जनाएको छ ।