अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पेट्रोलियम व्यवसायी र कर्मचारीलाई खोप उपलब्ध गराउन आग्रह

पेट्रोलियम व्यवसायी र कर्मचारीलाई खोप उपलब्ध गराउन आग्रह


काठमाडौं- नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशनले पेट्रोलियम व्यवसायी र कर्मचारीलाई कोभिड-१९ विरुद्धको खोपको व्यवस्थापन गरिदिन सरकारसँग आग्रह गरेको छ ।

सङ्घले आइतबार एक विज्ञप्ती जारी गर्दै अत्यावश्यक सेवालाई सञ्चालन गर्न अग्रपङ्क्तिमा रही कार्य गर्ने पेट्रोलियम व्यवसायीहरुले खोप नपाएको भन्दै उपलब्ध गराउन आग्रह गरेको हो ।

सङ्घका महासचिव विश्वप्रसाद अर्यालले जारी गरेको प्रेस विज्ञप्तिमा तीन पटक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगममा लिखित रूपमा माग गर्दा समेत सुनुवाइ नभएको जनाइएको छ । उहाँले भन्नुभयो, ‘अत्यावश्यक वस्तुभित्र समावेश गरिएको पेट्रोलियम पदार्थको ढुवानी गर्नेलाई तत्काल खोप उपलब्ध गराउन आवश्यक छ ।’

एसोसिएशनका अनुसार संस्थामा आवद्ध कोभिड महामारीकै कारण हालसम्म देशभर ११ जनाले ज्यान गुमाइसकेका छन् भने एक हजार २०० जना सङ्क्रमित भइसकेका छन् ।

सङ्घले प्रदेश नम्बर १ मा रहेका २४१ पेट्रोल पम्पका सञ्चालक, कर्मचारी, ट्याकरका चालक/सहचालक गरी एक हजार ७६३ जना, प्रदेश नम्बर २ का २७८ पम्पका एक हजार ९१३ जना, बाग्मती प्रदेशका ३८२ वटा पम्पका दुई हजार ९९८ जनालाई खोप उपलब्ध गराउन आग्रह गरेको छ ।

यसैगरी, गण्डकी प्रदेशका ६८ पम्पका ४४०, लुम्बिनी प्रदेशका ४०२ पम्पका दुई हजार ६३४ जना र सुदूरपश्चिम प्रदेशका ८१ पम्पका ५९८ गरी १० हजार ३४३ जनालाई तत्काल कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराइदिन माग गरेको छ ।