अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महोत्तरीमा घरमुलीलाई गोली हानी लुटपाट

महोत्तरीमा घरमुलीलाई गोली हानी लुटपाट


महोत्तरी- जिल्लाको लोहारपट्टी नगरपालिकामा-६ मा अज्ञात समूहले एक घरमुलीलाई गोली हानी लाखौँको लुटपाट गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार गएराति घरका सबैजना सुतिरहेको बेला लोहारपट्टी-६ बस्ने राजकरण साहको घरमा चाररपाँच अज्ञात व्यक्तिको समूहले प्रवेश गरी घरमुली गायत्रीदेवी साहको बायाँ तिघ्रामा गोली हानी लाखौँको लुटपाट गरी भागेका छन् ।

लुटेराको समूहले राजकरणको घरमा लुटपाट गरिरहँदा निजकी पत्नी गायत्रीले थाहा पाई हो हल्ला गर्न थालेपछि उनलाई लुटेराले गोली हानेको प्रहरी उपरीक्षक आचार्यले बताउनुभयो ।

गोली लागेको महिला गायत्री देवीको उपचार जनकपुरस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ भने उनको अवस्था गम्भीर रहेको परिवारजनले जनाएको छ ।

यता लुटेराले उनको घरबाट सुनको नाकको फूली-२ आना, कानको बाली-४ आना, तिलहरी-६ आना, मङ्गलसूत्र-६ आना, सामसुङ्ग मोबाईल थान-२ र नगद रु २५ हजारसहित तीन लाख बढीको सरसामान लुटेर लगेको जनाइएको छ ।

यसैबीच, प्रहरीले घटना स्थलबाट कटुवा पेस्तोलमा लाग्ने एक राउण्ड गोली र सोही पेस्तोलमा लाग्ने गोलीको खोका थान–एक बरामद गरेको छ भने लुटेराको खोजतलासको लागि व्यापकरूपमा प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक आचार्यले बताउनुभयो ।