अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुझावसल्लाह माग्न युवा संघको कार्यालय पुगे तीन मन्त्री

सुझावसल्लाह माग्न युवा संघको कार्यालय पुगे तीन मन्त्री


काठमाडौं- नवनियुक्त तीन मन्त्री नेकपा एमालेको प्रभावशाली भ्रातृ संगठन राष्ट्रिय युवा संघको कार्यालय पुगेका छन् । मन्त्रीहरू सुझावसल्लाह तथा शुभकामना थाप्न नयाँ बानेश्वरस्थित युवा संघको कार्यालय पुगेका हुन् ।

पर्यटन, नागरिक उड्डयन तथा संस्कृतिमन्त्री उमाशंकर अरगरिया, स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ र युवा तथा खेलकुद मन्त्री एकवाल मियाँ अन्सारीले युवा संघको कार्यालयमा पुगेर सुझावसल्लाह लिनुका साथै सम्मान थाप्नुभएको हो ।

जनता समाजवादी पार्टीबाट मन्त्री बन्नु भए पनि अरगरिया युवा संघको कार्यालय पुग्नुभयो । उहाँले शनिबार युवा संघको कार्यालय पुगेर पर्यटन, नागरिक उड्डयन तथा संस्कृतिको क्षेत्रमा के-के काम गर्न सकिन्छ भनेर संघका अध्यक्ष किरण पौडेल लगायतसँग सुझाव लिनुभयो ।

‘अब जुनसुकै पार्टीका युवा संगठनहरूले सरकारको काममा सघाउनुपर्छ, म यो पार्टी ऊ पार्टी भन्दिन,’ मन्त्री अरगरियाले भन्नुभयो ।

मन्त्री अरगरियालाई युवा संघका नेताहरूले खादा लगाइदिएर सफल कार्यकालका लागि शुभकामना दिएका थिए ।

त्यस्तै, आज युवा संघको कार्यालयमा दुई मन्त्री पुग्नुभएको छ । स्वास्थ्य मन्त्री तामाङ र युवा तथा खेलकुद मन्त्री अन्सारीले आज युवा संघको कार्यालयमा पुगेर सुझावसल्लाह लिनुभएको हो ।

‘कोभिड नियन्त्रणका लागि जनस्तरबाट युवा संघले खेलिरहेको भूमिका म हेरिरहेको छु, राम्रो काम गरिरहनुभएको छ, यसलाई जारी राख्नुस्,’ अध्यक्ष किरण पौडेल तथा नेताहरूलाई मन्त्री तामाङले भन्नुभयो ।

उहाँ लामो समय युवा संघको संगठनमा रहनुभएको थियो । आफ्नो अनुभव सुनाउँदै मन्त्री तामाङले भन्नुभयो, ‘युवा संघको नेतृत्वमा रहने साथीहरुले होशियार बन्नुहोला । राम्रो काम गर्दा पनि नराम्रो काम गरेको भनी कुप्रचार गर्छन्, भ्रम फैलाउँछन् । भ्रम चिर्दै काम गर्नुस् ।’

युवा तथा खेलकुद मन्त्री अन्सारीले युवा संघको कार्यालय पुगेर बधाई तथा शुभकामना थाप्दै भन्नुभयो, ‘युवा संघ यो देशको सबैभन्दा प्रभावशाली युवा संगठन हो । त्यही भएकाले तपाईंहरुको कार्यालयमै आएको छु ।’

मन्त्री बन्नासाथ आफ्ना बारे अनेक गलत समाचार फैलाइएको दुखेसो गर्दै मन्त्री अन्सारीले भन्नुभयो– ‘नकारात्मक पात्र र प्रवृत्तिले गलत कुरा फैलाउँछन्, सकारात्मक पात्र र प्रवृत्ति भएका मानिसहरु सही पक्षमा लाग्छन् । यो कुरा युवाहरूले बुझ्नुपर्छ ।’

युवा संघका अध्यक्ष पौडेलले नवनियुक्त मन्त्रीहरूलाई बधाई र शुभकामना मात्र होइन सुझाव समेत दिन बोलाइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो देशको सर्वाधिक धेरै संख्यामा युवा संगठित भएको संगठनको अध्यक्षको नाताले मैले सुझावहरू दिएको छु, उहाँहरूको सफलताका लागि हामी मद्दत गर्छौं भनेको छु ।’

केन्द्रीय उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख अशोक चौलागाईंका अनुसार मन्त्रिमण्डलका सबै सदस्यलाई युवा संघले रचनात्मक सुझाव दिने तथा सहयोग गर्ने नीति लिएको छ ।