अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समानान्तर गतिविधि नगर्न गंगाप्रसाद बास्तोलालाई चेतावनी

समानान्तर गतिविधि नगर्न गंगाप्रसाद बास्तोलालाई चेतावनी


उर्लाबारी- सत्तारुढ नेकपा एमालेको उर्लाबारी नगर कमिटीले ‘खनाल-नेपाल समूह’ भन्दै एमालेकै नाममा समानान्तर कमिटी बनाएकोमा आपत्ति जनाएको छ । एमालेको माधवकुमार नेपाल समूहले गत शनिबार नगर कमिटी गठन गरेपछि उर्लाबारी एमालेमा भाँडभैलो मच्चिएको छ ।

ओली पक्षीय एमालेका नगर अध्यक्ष उमाकान्त गौतमले मंगलबार विज्ञप्ति जारी गरी एमालेका नाममा गतिविधि गर्नेहरूलाई कारवाहीको चेतावनी दिएका छन्। उर्लाबारी-३ का गंगाप्रसाद बास्तोलाले पार्टी पुनर्गठन भन्दै आफ्नो संयोजकत्वमा एमाले नगर कमिटीको घोषणा गरेपछि गौतम नेतृत्वको उर्लाबारी एमाले क्रुध बनेको हो ।

गंगाप्रसाद बास्तोलालाई ‘अब एमाले हुँ भन्ने कुनै नैतिक र कानुनी अधिकार नभएको’ उर्लाबारी एमालेका संस्थापन पक्षका नेता, कार्यकर्ताको भनाई छ । उनलाई समानान्तर गतिविधि नगर्नपनि चेतावनी दिइएको छ ।

यसैबीच अध्यक्ष गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, –‘मुलुकको कम्युनिष्ट आन्दोलनको आरोह, अवरोहको विकासक्रममा पार्टीभित्र देखिएका असहज अवस्थाले सिंगो पार्टीपंक्तिमा सरोकार र चिन्ता छाएको सर्वविदितै छ ।

पार्टीभित्रको गहिरिदो संकटलाई निरुपण गर्न आम एमालेपंक्ति क्रियाशिल रहिरहेको अवस्थामा उर्लाबारीमा व्यक्तिवादी चिन्तन बोकेका केहि व्यक्तिहरुबाट पार्टीको लोगो, लेटरप्याड अनाधिकृत रुपमा प्रयोग गरिएकोप्रति ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा गौतमले भनेका छन्, ‘कुनै अमुक समुहको नाममा यो किसिमको फुटपरस्त गतिविधि सवर्था अनुचित र आपत्तिजनक भएको हाम्रो ठहर छ ।

नेकपा एमाले उर्लाबारी नगर कमिटीमा आबद्ध पदाधिकारी तथा सदस्य, संगठित सदस्य, अगुवा कार्यकर्ता, शुभेच्छुक, जनवर्गीय संगठनमा आबद्ध कमरेडहरूलाई अनाधिकृत व्यक्तिहरुले चलाएको अफवाहको भ्रममा नपर्न आग्रह गर्दछौ । अतः एमाले उर्लाबारी नगर कमिटी पूर्ववत अवस्थामा यथावत रहेको सबैमा जानकारी गराउन चाहन्छौ ।’

एमाले उर्लाबारी नगर कमिटी कुनैपनि किसिमका फुट र गुटपरस्त क्रियाक्लापलाई रोक्न सदैव सक्रिय रहदै जनाउदै एमालेको नवौ महाधिवेशनबाट पारित पार्टीको विधान अनुरूप केन्द्रिय नीति र जिल्ला कमिटीको निर्देशनविपरित नगर कमिटीभित्र ‘धमिलो पानीमा माछा मार्ने’ कार्य किमार्थ सह्यै हुने छैन–विज्ञप्तिमा उल्लेख छ । एमालेकै नाम दुरुपयोग गर्ने कार्य भइरहे संलग्न व्यक्तिहरुलाई पार्टी कारबाही गरिने पनि उल्लेख गरिएको छ ।

यस्तै, एमाले मोरङ जिल्ला सदस्य पुष्प ढकालले भने–‘जसरी हिजोका दिनमा केही नेतृत्वका व्यक्तिहरूलाई कारबाहीको प्रक्रिया अघि बढेको छ अब यही तरिकाले जाने हो भने समानान्तर कमिटी गठन गर्न उद्दत हुने र त्यो कमिटीमा बस्नेहरु समेतलाई कारबाहीको दिशामा पार्टी अगाडि बढ्छ ।’

लोकतान्त्रिक विधि, परम्परा र विधानबाट चल्नुपर्ने पार्टीलाई गैरकानुनी र गैरसंवैधानिक तरिकाले चलाउन खोजिएको उनले बताए। समानान्तर कमिटी गठन गर्ने कुरा पार्टीलाई स्वीकार्य नहुने उनको भनाइ छ।

ढकालले भने, ‘लोकतान्त्रिक विधिबाट, परम्पराबाट, विधानबाट चल्नुपर्ने पार्टी यदी गैरकानुनी तरिकाले, गैरसंवैधानिक तरिकाले र अवैधानिक तरिकाले चल्छ भने स्वभाविक छ त्यो पार्टीको कारबाहीको विषय बन्छ। त्यसकारणले समानान्तर कमिटी गठन गर्ने कुरा त कुनै पनि हालतमा पार्टीका लागि स्वीकार्य विषय हुनै सक्दैन ।’