अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल आइपुग्यो बंगलादेशसँग किनेको साढे ३२ हजार मेट्रिकटन मल

नेपाल आइपुग्यो बंगलादेशसँग किनेको साढे ३२ हजार मेट्रिकटन मल


काठमाडौं- बङ्गलादेशबाट खरिद गरिएको ३२ हजार ५ सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार-सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीद सम्झौताअनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा सो परिमाणका युरिया मल आइपुगेको हो ।

जिटुजी सम्झौताअनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरिया मल उपलब्ध गराउनेछ । तीमध्ये बाँकी रहेको १७ हजार ५ सय मेट्रिकटन युरिया मल आउने क्रममा रहेको सो कार्यालयका प्रवन्धक गोरखनाथ केसीले राससलाई बताउनुभयो ।

बाँकी रहेको मल कोलकाता बन्दरगाहको बाटो गरी रेलमार्गवाट वीरगञ्जको सिर्सियास्थित सुख्खाबन्दरगाह भन्सार कार्यालयमा आउने छन ।

सम्झौता अनुसार हालसम्म नेपाल सरकारले सबै मल प्राप्त गरी सक्नु पर्नेमा अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना सङ्क्रमणका कारण सबै क्षेत्र प्रभावित भएकाले बाँकी मल आउन ढिलाई भएको प्रवन्धक केसीले बताउनुभयो ।

उहाँका अनुसार बाँकी रहेका मल छिटै नै उपलब्ध गराउन नेपाल सरकार तथा बङ्गलादेशस्थित नेपाली दूतावासले प्रयास गरिरहेको छ । नेपाल सरकारले धानको सिजनमा मलको अभाव हुन नदिन बङ्गलादेशबाट ५० हजार मेट्रिकटन मल ल्याउन लागिएको हो ।

कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा अहिले युरिया मल २ हजार ७ सय मेट्रिकटन, डिएपी एक हजार ४ सय २ मेट्रिकटन र पोटास एक हजार २ सय ८० मेट्रिकटन मौज्दात अवस्थामा रहेको छ । मौज्दात रहेको उक्त मलले पहिलो चरणको धान खेतीका लागि पर्याप्त हुने देखिन्छ ।

पर्सा जिल्लास्थित १ सय ३१ थोक विक्रेतामार्फत सो मल किसानसम्म पुग्ने गरिन्छ । सो कार्यालयले थोक विक्रेतालाई एक पटकमा एक सय ३० बोरासम्म मल दिने गरेको छ । विक्रेताहरूले स्थानीय तहले तोकेको मूल्यमा किसानहरूलाई मल बिक्री गर्ने गरेको छ ।

कतिपय विक्रेताले किसानसँग तोकेको मूल्यभन्दा बढी मूल्य लिएर मल बिक्री गर्ने गरेको गुनासो समेत आउन थालेपछि सम्बन्धित स्थानीय तहले त्यस्ता कालोबजारी गर्ने थोक बिक्रेतालाई कारवाही गर्नुपर्ने मांग किसानको छ ।

पर्सामा ९० प्रतिशत किसान व्यवसायिक रूपमा धान खेती गर्दै आएका छन् । पर्सामा कूल ४६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।