अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिक्षा मन्त्री श्रेष्ठको निर्देशन : पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्नुस्

शिक्षा मन्त्री श्रेष्ठको निर्देशन : पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्नुस्


काठमाडौं- शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न निर्देशन दिनुभएको छ । केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले सो निर्देशन दिनुभएको हो ।

पाठ्यक्रम विकास तथा मूल्याङकन परिषद्को आज सम्पन्न ८८ औँ बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिनुभएको हो ।

उहाँ सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्सा अंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानुनअनुसार अनुसार कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिनुभएको छ ।

प्रकाशक र बिक्रेताले पुरानो किताबको कभर परिवर्तन गरी पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको हो । ‘तपाईहरूले अनुगमन गर्नुस्, देशको आच पुग्नेगरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गरेको पाईए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुस,’ मन्त्री श्रेष्ठको निर्देशन थियो ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखि नयाँ पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस विषयमा तत्काल अनुगमन गर्नेछौँ, गल्ती गर्ने प्रकाशक र बिक्रेतामथि कारबाही प्रकृया अघि बढाउनेछौँ ।’

उहाँले सरकारले नया नक्सा जारी गरिसकेको अवस्थामा पुरानो नक्सा उल्लेख गर्नु गम्भीर त्रुटी भएको बताउँदै त्यस्तामाथि कडा कारबाही गर्नुपर्ने बताउनुभयो । अधिकांश बिक्रेताले नेपालको पुरानो नक्सा उल्लेख गरी बिक्री गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेका प्रकाशक र बिक्रेतामाथि कारबाही प्रकृया अघि बढाउने जानकारी दिनुभयो ।

‘पुरानो नक्सा राखेर पुस्तक छापाई गरेको जानकारी पाएका छौँ, तीमध्य केही प्रकाशकलाई स्पष्टीकरण सोधेर कारबाही प्रकृया अघि बढाएका छौँ,’ उहाँले भन्नुभयो ।

अधिकांश पुस्तक प्रकाशक र बिक्रेताले सामाजिक शिक्षा, जिकेलगायतका पुस्तकमा पुरनै नक्सा राखेर छपाई गरेको पाईएको छ । मन्त्री श्रेष्ठले सरकारले जारी गरेको चुच्चे नक्सा नराखी प्रकाशन गर्ने पुस्तक ब्यापारीलाई तत्काल कारबाहीको दायरामा ल्याउनसमेत निर्देशन दिनुभयो ।

बैठकमा मन्त्री श्रेष्ठले कक्षा ६ को पुस्तक अभाव हुन नदिने सूचीकृतमा परेका प्रकाशकको पुस्तक छपाईका लागि स्वीकृत दिनसमेत निर्देशन दिनुभयो । बैठकले विभिन्न विषयका कक्षा ६-८ को पाठयक्रम स्वीकृत गरेको छ ।