काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्धारित मितिमै पार्टीको महाधिवेशन हुने बताउनुभएको छ । आज पेस वक्तव्य जारी गर्दै उहाँले महाधिवेशनको विषयलाई लिएर भ्रम नपर्नसमेत आग्रह गर्नु भएको छ ।
कांग्रेसले आगामी भदौ ७-१० गतेका लागि १४ औं महाधिवेशनको मिति तोकेको छ । सोही कार्यतालिका अनुसार क्रियाशील सदस्यताबारे काम सम्पन्न नभएपछि कांग्रेस नेताहरूले महाधिवेशन हुने आशंका व्यक्त गर्न थालेका थिए ।
यसलाई प्रष्ट पार्दै देउवाले विज्ञप्तिमा लेख्नुभएको छ,‘२०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ । म यसमा पूर्ण प्रतिवद्ध छु । पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जिवन्तताका लागि महायज्ञ हो भन्ने कुरा मैले राम्ररी बुझेको छु । महाधिवेशनको विषयलाई लिएर विभिन्न कुरा उठ्ने गरेको मैले सुनेको छु ।’
पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक-पटक आउने गरेका अभिव्यक्ति उचित नभएको देउवाले उल्लेख गर्नु भएको छ ।
पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरू मिलेर सम्पन्न गर्ने कार्य भएको भन्दै यसका लागि सबै जिम्मेवार हुनुपर्नेमा सभापति देउवाको जोड छ ।
‘हामीसँग अब बढी समय छैन । आषाढ र श्रावण दुई महिनाभित्र महाधिवेशनका लागि सबै पूर्व तयारी गर्नु पर्छ । पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरूको तयारी लगायत महाधिवेशनका सबै तयारी गर्नुछ,’ देउवाले भन्नु भएको छ, ‘यस निमित्त निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भई काम गरिरहेका छन् । पार्टीको महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै कार्य समयमा गरिने छन् ।’









प्रतिक्रिया