अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बैतडीको पञ्चेश्वरमा बाढीले एक दर्जन घरमा क्षति

बैतडीको पञ्चेश्वरमा बाढीले एक दर्जन घरमा क्षति


बैतडी- जिल्लाको पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलस्थित बस्खेतमा खहरे खोलामा आएको बाढीले एक दर्जन घरमा क्षति पुगेको छ । गए रातिदेखिको भारी वर्षाका कारण आज बिहान आएको बाढीले घरमा क्षति पुर्‍याएको हो ।

बस्खेत खोलामा आएको बाढीले अड्तोला र बैतागाउँमा रहेका एक दर्जन बढी घरमा क्षति पुर्‍याएको स्थानीयवासी भोजराज भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘खोलाको बाढीले यहाँका एक दर्जन बढी घरमा क्षति पुगेको छ, माथि डोजरले खनेको सडकको माटो बगेर बस्ती पसेको हो, अहिले पनि बस्ती जोखिममा रहेको छ ।’

बाढीले मुन्ना लुहारको घर आधा बगाएको छ । घरभित्र रहेका खाद्यान्न सामग्री, भाँडाकुडा बगेका छन् । यस्तै हरिराम लुहारको घर जोखिममा छ भने शङ्कर भण्डारीको शौचालय बगाएको छ ।

अविरल वर्षाका कारण सडकको माटोसहितको बाढी गाउँ पस्दा स्थानीयवासी गणेशसिंह भण्डारी, सुन्दरसिंह भण्डारी, गगनसिंह भण्डारी, रमेश लुहार, शिवराम लुहारलगायतका १० भन्दा बढी घर उच्च जोखिममा परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले प्रहरी टोली घटनास्थलतर्फ गएको र टोली घटनास्थल पुगेपछि मात्रै क्षति पूर्ण विवरण प्राप्त हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाढी बस्ती पसेको भन्ने खबर छ, मानवीय क्षति भएको छैन ।’