अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘लिक्विड स्प्रे’ गरेर चुरेका चिरा टालिन्छ : वनमन्त्री राना

‘लिक्विड स्प्रे’ गरेर चुरेका चिरा टालिन्छ : वनमन्त्री राना


काठमाडौं -नवनियुक्त वन तथा वातारण मन्त्री नारादमुनी रानाले चुरेको विनास रोक्न आधुनिक स्प्रे विधिको प्रयोग गरिने बताउनुभएको छ ।

नेपाली बहस डट कमसँग कुरा गर्दै मन्त्री रानाले चुरे संरक्षण मन्त्रालयको प्राथमिकताको कार्यक्रम भएको बताउनुभयो । उहाँले चुरेको विनास रोक्न र भइसकेको विनासबाट थप क्षति हुन नदिन आधुनिक र यान्त्रिक विधि प्रयोग गरिने बताउनुभएको छ । ‘चुरे संरक्षणका लागि एउटा नयाँ मेकानिज्म रहेछ ‘ मन्त्री रानाले भन्नुभयो ‘ एउटा लिक्विड स्प्रे पाउदो रहेछ त्यसले चुरेमा परेका चिरालाई टाल्दो रहेछ,थुन्दो रहेछ ,पानीको सिपेजलाई कन्ट्रोल गर्दो रहेछ । त्यसलाई हामी प्रयोग गर्छौं ।’

लिक्विड स्प्रे प्रविधि आफूले विदेशमा पनि हेरेको उल्लेख गर्दै मन्त्री रानाले नेपालको चुरे क्षेत्र अब त्यसै ढंगले संरक्षण गरिने जानकारी दिनुभयो । ‘अब हामी चुरेलाई नयाँ ढंगले, नयाँ प्रविधिको माध्यमबाट संरक्षणको प्रक्रिया अघि बढाउछौं ’ मन्त्री रानाले भन्नुभयो ‘ मैले विदेशमा पनि हेरेको छु जहाँ जहाँ चुरे चिरा परेको छ त्यहाँ एउटा स्प्रे गर्ने लिक्विड पाउदो रहेछ । त्यसले माटोलाई टाल्दो रहेछ । ’

मन्त्री रानाले सरकारले बजेट वक्तव्य मार्फत निर्यात गर्ने भनेको ढुंगा गीटी चुरे क्षेत्रको नभएको बताउनुभयो । यसलाई अनावश्यक रुपमा प्रचार मात्र गरिएको उहाँको भनाइ छ ।

‘ सरकारले लोकेट गरेको ठाउँ बाहेक चुरे पहाड खन्ने होइन । त्यो ढुंगा गीटी बालुवाको जुन पहाड छ । त्यसलाई निश्चित मापदण्डका आधारमा उत्खनन् गरिने भनेको हो’ मन्त्री रानाले भन्नुभयो ‘त्यसैले यस बिषयमा अनर्गल प्रचारको पछि लाग्नुको कारण छैन । यस बिषयमा उपप्रधान तथा अर्थमन्त्रीज्यूले पनि प्रष्ट पारिसक्नु भएको छ । ’

चुरे संरक्षणका बारेमा आजैबाट छलफल थाल्ने मन्त्री रानाको भनाई छ । त्यसका लागि चुरे संरक्षणका अभियन्ताहरुलाई आजै मन्त्रालयमा छलफलका लागि बोलाएको उहाँले बतानुभयो । मन्त्री रानाले भन्नुभयो ‘ म फेरी एक पटक जोड दिएर भन्छु चुरेलाई संरक्षण गर्ने नेपाल सरकारको नीति छ । त्यो नीतिको कडाइका साथ पालना हुन्छ । चुरेलाई संरक्षण नै गर्ने हो । ’