अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रहरीलाई गृहमन्त्रीको निर्देशन : निर्वाचनका लागि तयार रहनुहोला

प्रहरीलाई गृहमन्त्रीको निर्देशन : निर्वाचनका लागि तयार रहनुहोला


काठमाडौं- गृहमन्त्री खगराज अधिकारीले प्रहरीलाई उच्च मनोबलका साथ दायित्व निर्वाह गर्न निर्देशन दिनुभएको छ । आज प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्न पुग्नुभएका अधिकारीले प्रहरी कर्मचारीलाई जस्तोसुकै परिस्थितिको सामना गर्न राष्ट्रलाई शीरमा राखेर अगाडि बढ्न निर्देशन दिनुभएको हो ।

गृहमन्त्री अधिकारीले उपस्थित प्रहरी अधिकृत तथा जवान एवम् भिडियो कन्फेरेन्सबाट सहभागी ७ वटै प्रदेश प्रहरी प्रमुखहरूलाई निर्देशन सम्बोधन गर्नुभयो । सो क्रममा उहाँले नेपाल प्रहरी समाज र नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएको सबै भन्दा प्रभावशाली सुरक्षा निकाय भएको चर्चा गर्दै प्रहरीले आफ्नो कर्तव्य पूरा गर्नका लागि निर्भय, निर्धक्क र उच्च मनोबलका साथ दायित्व निर्वाह गर्न निर्देशन दिनुभयो ।

घोषित प्रतिनिधि सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने लगायतका दायित्व निर्वाहको साथै जस्तोसुकै परिस्थितिको सामना गर्न राष्ट्रलाई शीरमा राखेर अगाडि बढ्नुपर्नेमा उहाँको जोड थियो ।

गृहमन्त्री अधिकारीले कोभिड-१९ द्वारा सिर्जित विषम परिस्थितिमा पनि अग्रपंक्तिमा खटेर नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा, अमन चयन कायम गर्ने, अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने एवम् नागरिकको जीउ धनको सुरक्षाको लागि अहोरात्र निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै यस कार्यमा अझ बढी सक्रिय हुनुपर्ने बताउनुभयो ।

सीमित साधन स्रोतका बावजुद नेपाल प्रहरीलाई सुम्पिएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्दै आएको चर्चा गर्दै यस सन्दर्भमा आवश्यक व्यवस्थापनका लागि गृह मन्त्रालय प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अधिकारीले प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब, पोलीग्राफ सेक्सन र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी समेत लिनुभयो । गृहमन्त्री अधिकारीले प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभएको थियो ।