रूपन्देही- लिक्विड अक्सिजन प्लान्ट निर्माण रूपन्देहीको सेमरहवामा आजदेखि सुरु भएको छ । रोहिणी गाउँपालिका–४, मा निर्माण कार्य शुरु गर्न लागेको शङ्कर अक्सिजन ग्यास उद्योग प्रालिको प्रधानमन्त्री केपी शर्मा ओलीले आज भर्चुअल माध्यमबाट शुभारम्भ गर्नुभयो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले अक्सिजनमा आत्मनिर्भर कायम गर्ने प्रयासको प्रशंसा गर्दै अक्सिजन प्लान्ट स्थापना गर्न आयात गर्नुपर्ने उपकरणमा कर, भन्सार छुट तथा सहुलियत कर्जाको प्रवन्ध सरकारले कार्यान्वयनमा ल्याएको उल्लेख गर्नुभयो । सो अवसरमा पूर्व स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले सङ्कटको समयमा अक्सिजनको विषयमा सरकार, सरकारी निकाय र समाजका सबै अङ्गहरूको सामूहिक प्रयासले नै यसलाई समाधान गरिएको बताउनुभयो ।
लुम्विनी प्रदेशका जनसङ्ख्य तथा स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले प्रदेश सरकारले उपलब्ध गराउने सहुलियत उपलब्ध हुने बताउनुभयो । उद्योगका सञ्चालक एवम् प्रवन्ध निर्देशक शङ्कर अग्रवालले रु १ अर्बको लगानीमा उद्योग सञ्चालन गरी करिब १ वर्षमा निर्माण काम सम्पन्न गरी यसलाई बजारमा पठाउने लक्ष्य राखिएको बताउनुभयो ।
प्लान्टबाट ६० टन लिक्विड अक्सिजन र १ टन नाइट्रोजन ग्याँस प्रतिदिन उत्पादन गर्न सकिनेछ । लागत, ढुवानी लगायतको खर्चमा कमि हुने भएकोले सामान्य अक्सिजन ग्याँसभन्दा यो ग्यासको मूल्य कम पर्ने उद्योगका प्रवन्धक शम्भु भण्डारीले जानकारी दिनुभयो । कार्यक्रम अघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले उद्योगको अवलोकन गर्नुभएको थियो ।
प्रतिक्रिया