अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वायुसेवा निगमलाई नाफामा लैजान पर्यटन मन्त्रीको निर्देशन

वायुसेवा निगमलाई नाफामा लैजान पर्यटन मन्त्रीको निर्देशन


काठमाडौं- नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले नेपाल वायुसेवा निगम निगमसँग भएका विमानको पूर्ण उपयोग गरी नाफामूलक अवस्थामा लैजानुपर्नेमा जोड दिनुभएको छ । उहाँले दक्षता र योग्यताको आधारमा जनशक्तिको उचित उपयोग गर्दै निगमले विगतमा बनाएको प्रतिष्ठा पुनः प्राप्ति गर्न सामूहिक प्रयासको आवश्यकता रहेको पनि बताउनुभयो ।

आज निगमले आयोजना गरेको स्वागत एवं छलफल कार्यक्रममा उहाँले निगम नाफामूलक मात्र नभई सेवामूलक संस्थासमेत हो भन्ने अवधारणासहित अगाडि बढ्नुपर्ने भएकाले सोका लागि सरकारका तर्फबाट सहयोग हुने बताउनुभयो ।

मन्त्री अरगरियाले कोरोना महामारीमा समेत निगमले आफ्नो जिम्मेवारी सक्षमता साथ पूरा गरेको भन्दै अझ दरिलो कार्ययोजनासहित अघि बढ्न तत्कालै योजना बनाउन र गुमेको बजार पुनः प्राप्त गर्न ठोस कार्यको आवश्यकता रहेको बताउनुभयो ।

मन्त्रालयका सचिव यादव कोइरालाले निगमलाई परम्परागत ढंगमा अगाडि बढाउन नसकिने भन्दै नयाँ मोडेलमा परिवर्तन गरी प्रगति तर्फ लैजानुपर्नेमा जोड दिनुभयो । निगमलाई क्षेत्रीय वायुसेवा कम्पनी बनाउनेतर्फ निगम व्यवस्थापन र कर्मचारी लागि परेको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिनुभयो ।

उहाँले निर्माणाधीन भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ सेवा सञ्चालन बापतको राजश्व ५ वर्षका लागि छुट दिनसमेत आग्रह गर्नु भएको थियो ।