सुर्खेत– कर्णाली प्रदेशको एमाले संसदीय दलको बैठकमा माधवकुमार नेपाल समूहका नेता प्रकाश ज्वाला उपस्थित हुनुभएको छ । उहाँबाहेक एमालेबाट विद्रोह गरेका तीन मन्त्री भने जानुभएन ।
ज्वालाले आफू प्रतिपक्षीको सिटमा नै बस्ने बताउनुभयो । एक सांसदका अनुसार नेपाल समूहले केन्द्रको निर्देशन पर्खिने भएको छ ।
एमालेको ह्वीप उलंघन गर्दै फ्लोर क्रस गरेका चार मध्ये मन्त्री हुनुभएका भौतिक पूर्वाधार विकासमन्त्री अमरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री नन्दसिंह बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कुर्मराज शाही भने संसदीय दलको बैठकमा जानुभएन ।
विद्रोही सांसदहरु नीति तथा कार्यक्रम भने पारित गर्नुपर्ने पक्षमा हुनुहुन्छ ।
एमालेले ह्वीप तोड्दै माओवादी केन्द्रका मुख्यमन्त्री उम्मेदवार महेन्द्रबहादुर शाहीलाई मत दिएका चार जनालाई कारबाही गरेको थियो । तर, सर्वोच्च अदालतले पुनर्बहाली गरेपछि दलका नेता यामलाल कँडेलले मन्त्रीलाई राजीनामा गर्न र सांसदलाई प्रतिपक्षी सिटमा बस्न चेतावनी दिनुभएको थियो ।
बैठकअघि दलका नेता कँडेल र विद्रोही समूहको नेतृत्व गर्नुभएका प्रकाश ज्वालाबीच छलफल भएको थियो ।
स्रोतका अनुसार ज्वालाले मुख्यमन्त्रीमा दुवै पक्षले शेयर गर्नुपर्ने र अहिलेका तीन मन्त्रीलाई निरन्तरता दिनुपर्ने माग अडान राख्नुभएको छ ।
प्रतिक्रिया