अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं महानगरको नीति तथा कार्यक्रम असार ३ गते प्रस्तुत गरिने

काठमाडौं महानगरको नीति तथा कार्यक्रम असार ३ गते प्रस्तुत गरिने


काठमाडौं- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम यही असार ३ गते बिहीबार प्रस्तुत गर्ने भएको छ ।

चालू आवमा जस्तै यस वर्ष पनि कोरोना महामारी नियन्त्रण र यसले पारेको प्रभावलाई सहजीकरण गर्ने कार्य मुख्यरूपमा समेटिएका छन् ।

कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले भन्नुभयो, ‘चालू आवमा सञ्चालनमा रहेका तर विभिन्न कारणले गर्दा पूरा हुन नसकेका आयोजना पूरा गर्ने विषय पनि नीति कार्यक्रमको मुख्य विषय रहेको छ । त्यसैगरी कोरोनाले गर्दा आर्थिक, सामाजिक, सांस्कृतिकरूपमा पर्न गएको समस्यालाई सहजीकरण गर्ने कार्य पनि प्रमुखरूपमा कार्यक्रममा समावेश भएको छ ।’

असार ३ गते नीति कार्यक्रम ल्याउनका लागि महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा ६१औँ कार्यपालिका बैठक सम्पन्न भइसकेको छ ।

प्रमुख शाक्यले आउँदो वर्षका लागि गर्नुपर्ने कामलाई योजनाका रूपमा सङ्कलन गरी वडा समितिका बैठकबाट प्राथमिकीकरण गरेर पठाउन ३२ वटै वडाका वडाध्यक्षलाई आग्रह गर्नुभएको छ ।

चालू आवमा पनि कोरोना महामारी रहेकाले नीति कार्यक्रम र बजेट नै महामारी नियन्त्रण र यसले पारेको समस्या समाधानमा केन्द्रित रहेको थियो । चालू आवका लागि कामपाले रु १५ अर्ब ५० करोडको बजेट विनियोजन गरेको थियो ।

सोमध्ये भौतिक पूर्वाधार क्षेत्रमा तीन अर्ब ९५ करोड रुपैयाँ रहेको थियो । अहिलेसम्ममा पूर्वाधार क्षेत्रको २५ प्रतिशत मात्र बजेट खर्च भएको छ ।