अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाललाई एउटा अवसर : ब्याक टू एमाले, गभर्न एमाले

माधव नेपाललाई एउटा अवसर : ब्याक टू एमाले, गभर्न एमाले


एमालेले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेका माधव नेपालको घरमा जेठ मसान्तका दिन हिजो दुईजना शक्तिशाली पाहुना आउनुभयो । नेपाल निवास कोटेश्वरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई नेपालले निवासमा स्वागत गर्नुभयो । उहाँलाई दुई ओजनदार व्यक्तित्व आफ्नो घरमा पाहुना आउँदा त रमाइलै लाग्यो होला तर, आम एमाले नेता कार्यकर्ताले तीन नेताबीचको सौहार्दपूर्ण वार्ताको दृश्यलाई रुचाएनन् । नेपाललाई साथ दिंदै आएका नेताहरुलाई समेत अब लाग्न थालेको छ, नेता नेपालले साँच्चिकै एकता नचाहेका पो हुन् कि !

घरमा शीर्ष नेताहरुको आगमन स्वभाविक थिएन, सित्तिमिती अरुको निवास नजाने देउवासहितको बैठकले ‘केपी ओलीलाई जसरी पनि सत्ताच्यूत गर्ने । एमालेलाई कमजोर पार्ने । यसमा नेपालले दृढतापूर्वक साथ दिने ।’ अर्थात् माधव नेपालले कुनै पनि मानेमा विपक्षी गठबन्धन छाड्न नमिल्ने । विपक्षीलाई यो स्पष्ट छ कि, केपी ओलीलाई सत्ताच्युत् गर्न विपक्षी सक्षम छैनन्, उहाँकै दलका नेताले नै साथ दिनुपर्दछ ।

नेता नेपाल निवासमा भएको भेट । तस्बिर : मोहन गौतम

माधव नेपालका पछिल्ला गतिविधि सबैलाई जगजाहेर नै छ कि उहाँ पार्टी भत्काउदै हिड्नु भएको छ । यसले स्वयं नेपाल र उहाँ निकट नेताहरु कसैलाई पनि फाइदा गर्दैन । प्रधानमन्त्री केपी शर्मा ओलीले हदैसम्मको लचकता अपनाएर पार्टी एकताका लागि गरेको छ बुँदे प्रस्ताव सार्वजनिक गर्नुभयो । जहाँ पार्टीलाई जेठ २ को अवस्थामा फर्काउने मञ्जुरी थियो । यो प्रस्तावका शब्दहरुमा भन्दा पनि उहाँ आशयतिर लाग्नुपर्नेमा दुराशयतिर जान थाल्नु भएको छ । आशय नाप्ने कडी के त ? मनसाय नाप्ने कडी केही पनि छैन । तर जब दुई तर्फबाट आफ्ना आफ्ना कुरा सावर्जनिक भएका छन् अबको आवश्यकता भनेको यीनै लिखित विषयहरु लिएर वार्तामा बस्नुको विकल्प छैन । अहिले धेरै बिषयहरु साँघुरिएका छन् । नेकपा एमालेको यो विवाद नमिल्ने ठाउँमा छैन मिल्ने ठाउँ मै छ तर त्यसका निम्ति इमान्दारिता आवश्यक छ । यसको पहिलो आधार भनेको शेरबहादुर देउवालाई शिरमा राख्नका लागि जुन आधार तय गरिदैछ त्यसठाउँबाट माधव नेपाल पछाडि हट्नुपर्दछ ।

अहिले एउटा स्पष्ट दृष्य के देखियो भने अब प्रधानमन्त्री ओलीले माधव नेपालका लागि केही कुरा छोड्नु पर्ने देखिएन । किनकि माधव नेपालका फागुन २३ देखि जेठसम्मका दैनिकीको टिपोट गर्ने हो भने अब उहाँले एमालेमा यो पाउनु पर्‍यो, त्यो पाउनु पर्‍यो भन्ने नैतिकता गुमाइसक्नुभएको छ । त्यो कुरा स्वयं नेपालले महसुस गर्नुभएको छ । यता देउवा–दाहालले उहाँलाई कम्तीमा १०–१२ सिट सांसद दिन्छौं भनेर आश्वस्त पारेका छन् । उहाँलाई बरु देउवा दाहालको समिपमा गएँ भने पो मैले धेरै पाउछु कि भन्ने परेको छ । जुन ध्वंस्सको बाटो हो ।

एमालेमा फर्किएर आफ्नो विशाल महलको हर्ताकर्ता हुने कि विपक्षीहरुको आँगन कुरेर उनीहरुको जुठोपुरो खाएर गुजारा गर्ने हो । त्यो उहाँ मै निर्भर रहने भयो । समयले माधव नेपाललाई एउटा सुनौलो अवसर दिएको छ । त्यो भनेको ‘ब्याक टू एमाले, गभर्न एमाले ।’

प्रधानमन्त्री ओलीले जेठ ३ मा फर्कन आफू तयार रहेको ६ बुँदे प्रस्तावको नेपालसँगै रहेका अन्य नेताहरुले स्वागत गर्नुभएको छ । त्यो स्वागतसँगै त्यसलाई मूर्त रुप दिनका लागि कार्यदल सहितका बैठक बस्नुपर्दछ भन्नेमा दुवै पक्ष सहमत छन् । त्यस अन्तरगत दुवै पक्षका दोस्रो पुस्ता र युवा नेताहरु सहित त्यसयता निरन्तर वार्ताहरु पनि भइरहेका छन् । तर ती सबै वार्ताहरुलाई वेवास्ता गर्दै १५ वर्ष पार्टीको नेतृत्व सम्हालेका पूर्व प्रधनमन्त्री नेपालचाहिँ यतिबेला एमालेलाई समाप्त पार्ने देउवा– दाहालको मिसनको एउटा अंग बन्नुभएको छ । त्यसै अन्तर्गत प्रधानमन्त्री ओलीले सहमतिको प्रस्ताव सार्वजनिक गरेकै दिन उहाँ त्यस प्रस्तावका बारेमा परामर्श गर्न थापथली, बालुवाटार वा सिंह्दरबार नगएर बुढानिलकण्ठ पुग्नुभयो । र, देउवा–दाहालसँग जे सल्लाह गर्नुभयो त्यही सल्लाह बमोजिम आफ्ना पार्टी अध्यक्षले प्रस्ताव गरेको छ बुँदे अस्वीकृत गर्नुभएको प्रष्टैछ ।

यसै सन्दर्भमा नेपालको छ बुँदे प्रस्ताव माथिको असहमति र त्यसमा केही अतिवादीहरु जो एमालेमा छन् तर पार्टीको विवाद हल हुनुहुँदैन भन्ने पक्षमा छन् उनीहरुले नेपाललाई व्याक अप गरिरहेका छन् । हिजो नेपाललाई साथ दिंदै आएर सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्यहरु त्यो मोर्चाबाट बाहिरिनु भएको छ । उहाँहरुले प्रधानमन्त्री ओलीसँग निरन्तर संवाद गरिरहनुभएको छ । उहाँहरुको बल सकेसम्म नेपाललाई जेठ २ मा फर्काएर सहमतिमा ल्याउने । त्यो नभए नेपालालई छोडेर भए पनि पार्टी एकतामा लाग्न तयार रहेको बताउनुभएको छ ।

चपली हाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा ३० वैशाखमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटघाट । तस्बिर : राजन काफ्ले

यी भनाइहरु दुवै पक्षका वार्तामा पनि उठेका छन् । र पार्टी एकता समकरात्मक मुडतर्फ बढेको देखिन्छ । त्यसका संकेतका रुपमा बागमती प्रदेश, कर्णाली प्रदेश र एक नम्बर प्रदेशबाट आरम्भ पनि भएको छ । यी सबै परिदृष्यका बीच विधि र पद्धतीका निम्ति पार्टीका आन्तरिक संघर्ष चर्काएको बताउनुहुने माधव नेपालको रवैया भने फरक देखिएको छ । त्यसकै निरन्तरता स्वरुप सोमबार देउवा र प्रचण्डलाई आफ्नै निवासमा बोलाएर जसरी पनि प्रधानमन्त्री ओलीलाई सत्ताच्यूत गर्ने एमाले र ओली कमजोर बनाउने सन्दर्भमा छलफल गरेको सावर्जनिक भएको छ । यथार्थ के हो र भित्र के छलफल भयो भन्ने कुरा नेपालले बताउनुहोला नै तर कांग्रेसका नेता पूर्णबहादुर खड्काको भनाइमा स्वयं माधव नेपालले ओलीलाई सत्ताच्यूत गर्ने र एमालेलाई कमजोर बनाउने सन्दर्भमा छलफल भएको भन्ने कुरा बाहिर ल्याउनुभएको छ । यो अत्यन्तै आपतीजनक छ । एमाले बनाउन माधव नेपालको योगदान कम छैन तर जसरी अहिले एमाले भत्काउन सक्रिय हुनुभएको छ ।

प्रधानमन्त्रीको छ बुँदे प्रस्ताव एमालेलाई एकीकृत गर्ने एउटा अन्तिम समाधान सुत्रको रुपमा आएको छ । यो प्रस्तावलाई मानेर दोस्रो तहका नेताहरुबीच छलफल भइरहेको छ । त्यो छलफलबाटै समाधान निस्कने हो । यदी नेपाल त्यो छलफलबाट निस्केको समाधानमा सहमत हुनुहुन्छ भने उहाँ फेरि पनि एमालेमा आएर नेता बन्न सक्नुहुन्छ । यसका निम्ति प्रधानमन्त्रीले आह्वान गर्नु भएकै छ । यदि उहाँ प्रधानमन्त्रीको प्रस्ताव पनि नमान्ने, कार्यदलमा भएका सहमतिलाई भाँड्न लाग्ने र आफ्नै पार्टी र सरकारा ढाल्नका निम्ति विपक्षहरुसँग गठबन्धन गर्दै हिड्ने हो भने माधव नेपालको राजनीतिक अवसान अवश्यमंभावी छ ।

पाँच दशक लामो राजनीतिको उतरार्धमा पुग्दै गर्दा जुन बाटो नेपालले रोज्नुभयो त्यो ध्वंसको बाटो हो । यो बाटोले एमालेलाई मात्र बमजोर बनाउने हैन कि नेपालको कम्यूनिष्ट आन्दोलनलाई नै रसातलमा भसाइदिन्छ । माधव नेपालले बुझ्नु पर्दछ उहाँ नहुँदा पनि एमाले अघि बढ्छ । खाली प्रश्न के भने सकेसम्म सबै एकीकृत भएर जाँदा अहिले देश र जनताका निम्ति उपयुक्त हुन्छ भन्ने हो । त्यसैले यसतर्फ माधव नेपालको ध्यान जानु जरुरी छ अन्यथा इतिहासले उहाँलाई क्षमा दिने छैन । एमालेमा फर्किएर आफ्नो विशाल महलको हर्ताकर्ता हुने कि विपक्षीहरुको आँगन कुरेर उनीहरुको जुठोपुरो खाएर गुजारा गर्ने हो । त्यो उहाँ मै निर्भर रहने भयो । समयले माधव नेपाललाई एउटा सुनौलो अवसर दिएको छ । त्यो भनेको ‘ब्याक टू एमाले, गभर्न एमाले ।’