काठमाडौं- नेकपा एमालेको वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीलाई जोगाउन सबैमा आह्वान गर्नु भएको छ ।
उपचारका लागि भारत जानुअघि एक प्रेस वक्तव्य जारी गर्दै उहाँले पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न सबै नेता कार्यकर्ताहरूलाई आह्वान गर्नु भएको हो ।
‘रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टिका वैधानिक प्रकृयाअन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरूलाई विशेष आह्वान गर्न चाहन्छु,’ वरिष्ठ नेता खनालले भन्नुभएको छ, ‘पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्यौ भने मात्र हामी सफल हुन सक्छौँ । र, सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्छौं । त्यसैले टुट-फुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडि बढौं भन्ने सबैमा आह्वान गर्न चाहन्छु ।’
उहाँले वर्तमान राजनीतिक अवस्थाले आफूलाइै धेरै चिन्तित बनाएकोसमेत उल्लेख गर्नु भएको छ । ‘देशको विथोलिएको वर्तमान राजनैतिक अवस्थाले मलाई धेरै चिन्तित बनाएको छ । राजनैतिक दलहरू विवाद र ध्रुवीकरणले विभाजन उन्मुख भएका छन् । त्यही अन्तर संघर्षको पराकम्पन हाम्रो तत्कालिन पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पर्यो । र, अहिले नेकपा (एमाले) मा परिरहेको छ । राष्ट्रिय एकता-अखण्डता लोकतन्त्र र स्थायीत्वको खम्बाको रूपमा रहेका दलहरूभित्र यस्तो हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ती दुर्भाग्यपूर्ण अवस्था हो ।’
वरिष्ठ नेता खनालले बदलाको भाव र अनावश्यक ईगोका कारण पार्टी जीवनमा गम्भीर संकट परेको समेत उल्लेख गर्नु भएको छ । ‘जनताको चाहना र अपेक्षा विपरित हामीमा देखिएको अनेकौं गलत प्रवृत्तिहरू, बदलाको भाव र अनावश्यक ईगोका कारण पार्टी जीवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको छ,’ उहाँले लेख्नुभएको छ, ‘देश, लोकतन्त्र र पार्टीको यो अवस्थाले मलाई अत्यन्तै चिन्तित बनाएको छ । विगतमा हामी सबै मिलेर ठूलाठूला सफलताहरू प्राप्त गरेको स्मरण गरौं । एकता सफलताको बाटो हो भने फुट विनासको ।’
प्रतिक्रिया