काठमाडौं– मध्यपश्चिम र पोखरा विश्वविद्यालयका दुईजना पूर्वउपकुलपतिले प्रधानमन्त्रीले आफू मातहतका निकायलाई राय सुझाव दिंदा हस्तक्षेप भयो भन्नु गलत भएको बताउनुभएको छ ।
मध्यपश्चिमका पूर्व उपकुलपति प्राडा. उपेन्द्र कोइराला र पोखराका प्रा. चिरञ्जीवी शर्माले पूर्व उपकुलपतिका नाममा गैरप्राज्ञिक बक्तव्यवाजी हुनु दुखद् रहेको बताउनुभएको छ । नेपाली बहस डट कमसँग कुरा गर्दै कोइरालाले ‘विज्ञप्ती जारी गर्ने पूर्व उपकुलपतिहरुले आफ्ना पालामा बिना आधार मेडिकल कलेजहरुलाई दिएको सम्बन्धन सम्झिने हो भने यस्तो विज्ञप्ती लेख्न हात लाग्दैन थियो होला ।’
कोइरालाले उपकुलपतिहरुले देशको समग्र उच्च शिक्षालाई प्रागुणस्तर हिसाबले जनसस्तरसम्म कसरी पुर्याउने भन्ने विषयमा चिन्तन गरेर सकरारलाई सुझाव दिनुपर्नेमा अमुक राजनीतिक अभिष्ट पुरा गर्न वक्तव्यवाजी गर्दै हिड्नु लज्जास्पद भएको उल्लेख गर्नुभएको छ । ‘सम्मानीय प्रधानमन्त्री एवं कुलपति र शिक्षामन्त्री एवं सहकुलपतिले चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई वा उपकुलपतिलाई बैठकमा बोलाएर निर्देशन दिने कुरालाई हस्तक्षेप भन्नु लज्जास्पद बिषय हो,’ कोइरालाले भन्नुभएको छ ।
यसैगरी, पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति चिरञ्जीवी शर्माले प्राज्ञिक थलोमा बसेका मानिसहरुले गैरप्राज्ञिक कुरा गर्दा मात्र सुहाउँदिलो नदेखिने बताउनुभयो । शर्माले नेपाली बहस डट कमसँग कुरा गर्दै भन्नुभयो, ‘आयोगका उपाध्यक्ष अथवा विश्वविद्यालयका उपकुलपतिलाई प्रधानमन्त्रीले रायसुझाव दिंदा त्यसलाई स्वायत्तता माथि हस्तक्षेप भयो भन्नु मेडिकल शिक्षालाई अराजकताको बाटोमा लैजान खोजेको हो वा प्राज्ञिकहरुले प्रोटोकल नबुझेको हो हामीले बुझ्न सकेका छैनौ ।’
केही दिन अघि आयोगको बैठकमा झापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन प्रधानमन्त्रीले दबाब दिएको भन्दै उपाध्यक्ष श्रीकृष्ण गिरीले प्रचारबाजी गर्नुभएको थियो । यसैलाई आधार बनाएर मंगलबार त्रिभूवन विश्व विद्यालय लगायत विभिन्न विश्वविद्यालयका पूर्व उपकुलपतिहरुले प्राज्ञिक हस्तक्षेप भयो भन्दै आपत्ति जनाउनुभएको थियो ।
प्रतिक्रिया