अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कालीगण्डकीले ९ घर बगायो

कालीगण्डकीले ९ घर बगायो


पर्वत- गएको शनिबारदेखिको अबिरल वर्षाको कारण पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतिवेणीका नौ घर बाढीले बगाएको छ ।

सेतीवेणी बजारमा रहेका स्याङ्जाको गल्याङ नगरपालिका-५ का आठ घरधुरी र पर्वतको विहादी गाउँपालिका-६ शालिग्रामको एक घरधुरी बाढीले बगाएको हो । मङ्गलबार बिहान उर्लिएको कालीगण्डकी नदीको पानीको भेल १५ वटा घरभित्र पसेर क्षति पुगेको थियो ।

मङ्गलबार दिउँसो वहाब केही घटेपनि साँझ फेरि बढेर घर बगाएको स्थानीयवासी तिलक पराजुलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीय केशवराज न्यौपाने, लक्ष्मी न्यौपाने, रेशमलाल नौपाने, गोपाल सुनार, शक्ति श्रेष्ठ, माया क्षेत्री र विक्रम श्रेष्ठलगायतको घर बाढिले बगाएको हो ।

अहिले विस्थापित बनेका परिवारलाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ । कालीगण्डकी र सेतीखोला दुवैको बहाब बढेर पर्वत र स्याङ्जा जोड्ने सेतीखोला माथिको पुलबाट पानी बग्न लागेपछि बजारवासीमा रुवावासी छाएको थियो ।

अहिलेसम्म मानवीय क्षति भने नभएको पराजुलीले जानकारी दिनुभयो । बाढीले भत्काएका घरवाट बजारवासीले अत्यावश्यक वस्तुहरु निकालिएको थियो ।

अहिले स्याङ्जातर्फको बजार पूर्णरुपमा विस्थापित हुने खतरा रहेको छ । त्यसैगरी विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ भने शिला नजिकै रहेका सत्तलहरु समेत बगाएको छ ।

सेतिवेणीमा रहेको प्रहरी चौकीले विस्थापित भएका घरधुरीलाई सुरक्षित स्थानमा सार्न र सतर्कता अपनाउन आग्रह गरिरहेको छ ।