अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विज्ञापनमा एकद्वार प्रणाली लागू गर्दा एजेन्सीहरूलाई नै सहज हुन्छ : बोर्ड अध्यक्ष हुमागाईं

विज्ञापनमा एकद्वार प्रणाली लागू गर्दा एजेन्सीहरूलाई नै सहज हुन्छ : बोर्ड अध्यक्ष हुमागाईं


काठमाडौं- विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापनमा एकद्वार प्रणाली लागू गर्दा विज्ञापन व्यवसायीहरूलाई नै सहज हुने बताउनुभएको छ ।

विज्ञापनमा एकद्वार नीति ल्याउन लागेको भन्दै विज्ञापन व्यवसायीहरूले विरोध गरिरहेको सन्दर्भमा अध्यक्ष हुमागाईंले यस्तो बताउनुभएको हो ।

सरकारी विज्ञापनमा एकद्वार प्रणाली लागू हुनु भनेको सम्पूर्ण काम बोर्डले मात्रै गर्ने भन्ने नरहेको उहाँले स्पष्ट पार्नुभयो । प्रदेश सरकारका निकायमा प्रदेश कानुन र स्थानीय तहमा स्थानीय कानुन लागू हुने गरी ऐन बनेको अध्यक्ष हुमागाईंले बताउनुभयो । एकै निकायबाट विज्ञापन जाँदा सहज हुने अवधारणाका लागि एकद्वार प्रणाली बनाइएको उहाँको भनाई छ ।

‘सरकारी विज्ञापनको एकद्वार प्रणाली भनेको सबै बोर्डले मात्रै गर्ने भन्ने छैन । प्रदेश सरकारका निकायमा प्रदेश कानुन लागू हुन्छ । स्थानीय तहमा स्थानीय कानुन लागू हुन्छ । र, संघीय संरचनाहरू छन्, त्यहाँको हकमा सरकारको एउटा निकायबाट विज्ञापन जाँदा सहज हुन्छ भन्ने अवधारणामा ऐन बनेको छ । र, त्यो ऐनको कार्यान्वयनमा जानेसम्मको विषय हो,’ अध्यक्ष हुमागाईंले भन्नुभयो, ‘अब विज्ञापन व्यवसायीहरूले विभिन्न कार्यालयमा गएर जुन विज्ञापन लिनुपर्थ्यो, अब सीधै विज्ञापन बोर्डमार्फत् प्राप्त गर्छन् । त्यसैले गर्दा उहाँहरूलाई त अझ सहज, अझ सजिलो हुन्छ ।’

उहाँले विज्ञापन बोर्डले विज्ञापनको समानुपातिक वितरणमा नै विश्वास गर्ने बताए। सञ्चारमाध्यमहरूको विज्ञापनमा आफ्नो पहुँच भएन भन्ने गुनासोको सम्बोधन गर्न ऐनमा व्यवस्था गरिएको उनले उल्लेख गर्नुभयो ।