काठमाडौं– नेकपा एमालेको माधव नेपाल समूहमा एकताविरोधी भावना कहाँसम्म पुगेको छ भन्ने बुझ्न वरिष्ठ नेता झलनाथ खनालको विज्ञप्ती प्रकरणबाट प्रष्ट भएको छ ।
उपचारका लागि भारत जानुअघि खनालले जारी गरेको बक्तव्यप्रति नेताहरु जगन्नाथ खतिवडा र विजय पौडेलको सार्वजनिक धारणा एकताविरोधी विचार प्रकट भएको छ । पार्टी निर्माणभन्दा गुट विस्तारमा रहनुभएका खतिवडा र पौडेलले विगतमा पनि यस्तै बक्तव्य सार्वजनिक गर्नुभएको थियो ।
खनालको वक्तव्यले पार्टी एकतामा बल पुर्याएको भन्दै नेता कार्यकर्ताले शेयर गर्न थालेपछि दुई नेताको धारणा बाहिर आयो ।
खनालको हस्ताक्षर दुरुपयोग गरी बक्तव्य जारी गर्नु निकै दुखद भएको भन्दै खतिवडाले फेसबुकमा लेख्नुभएको थियो, ‘श्वास प्रश्वासमा समेत गाह्रो भइरहेको अवस्थामा झलनाथ खनालले यस्तो वक्तव्य लेख्ने कल्पना गर्न सकिँदैन ।’ वक्तव्यमा उल्लेखित विचार खनालको विचारसँग मेल नखाने भन्दै उहाँले भन्नुभएको थियो, ‘उहाँ प्लेन चढिसकेपछि यो वक्तव्य आउनु आफैंमा रहस्यमय छ ।’
खतिवडासँगै नेता विजय पौडेलले पनि ट्वीटरमा झलनाथ खनालको नाममा अरुले वक्तव्य निकालेर फट्याईं गरेको आरोप लगाउनुभएको थियो । उहाँको भनाइ थियो, ‘झलनाथ कमरेडको नाममा आफ्नो वक्तव्य निकालेछन् । यस्तो फट्याइँ नगरेको बेस ।’
यो पनि पढ्नुहोस्
-
एमाले विभाजन होइन एकता गराउने कार्यमा अगाडि बढौं : झलनाथ खनाल
-
गोकर्ण विष्टले भनेका माधव पक्षका अतिवादीहरू को-को हुन् ?
स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली जानुअघि वरिष्ठ नेता खनालले पार्टी एकता जोगाउन अपिलमात्रै गर्नुभएन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँग टेलिफोनमा कुरा गर्दै एकताका लागि प्रेरणा दिनुभएको थियो । ‘एकता सफलताको बाटो हो भने फुट विनासको । त्यसैले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टी वैधानिक प्रक्रियाअन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरुलाई विशेष आहृवान गर्न चाहन्छु,’ खनालको विज्ञप्तीमा लेखिएको थियो ।
खनाल निकट नेता होम बुढाथोकीले भने पार्टी एकताबारे जारी भएको विज्ञप्तीमा स्वयं खनालले नै हस्ताक्षर गर्नुभएको हो । खनालको हस्ताक्षरमा उनकै आधिकारिक फेसबुक पेजबाट जारी भएको विज्ञप्तिबारे कुनै आशंका नरहेको भन्दै बुढाथोकीले विज्ञप्तिमा हस्ताक्षर गर्दा पनि आफू सँगै रहेको बताउनुभएको छ ।
खनालले आफू उपचारका लागि दिल्ली जानुअघि एकताको पक्षमा विज्ञप्ती निकाल्ने इच्छा देखाउनुभयो । भीम आचार्यले विज्ञप्ती ड्राफ्ट गर्नुभयो । तर, खनालले हस्ताक्षर गर्न सक्नुभएन । उहाँको हात कामेकाले आफूले आधिकारिक छाप हानेको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।
खनालको एकता आहवानबारे फरक विचार राखेकोमा आचार्य पनि आक्रोसित हुनुभएको छ ।
प्रतिक्रिया