अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘पत्रकारिताको क्षेत्रमा छुट भएका कुरा सम्बोधन हुन्छ’

‘पत्रकारिताको क्षेत्रमा छुट भएका कुरा सम्बोधन हुन्छ’


हेटौँडा- वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बजेट भाषणमा पत्रकारिता क्षेत्रको विकासका बारेमा छुट भएका कुरा सम्बोधन हुने बताउनुभएको छ । आर्थिक पत्रकार समाजले आयोजना गरेको आर्थिक पत्रकारितासम्बन्धी तालिममा आज उहाँले कोभिड नियन्त्रण र रोकथाम तथा महामारीका कारण थला परेको अर्थतन्त्र उठाउनका लागि सरकार लागकाले केही महत्वपूर्ण कुरा पनि छुटेको हुनसक्ने उल्लेख गर्नुभयो ।

मन्त्री ढुङ्गेलले प्रदेश सरकार पत्रकारलाई तालिम, क्षमता वृद्धि तथा सञ्चारगृहको व्यवस्थापनका लागि सहयोग गर्न तयार रहेको धारणा राख्नुभयो । सञ्चार क्षेत्र र सरकार एकआपसका परिपूरक भएको उल्लेख गर्दै उहाँले सरकार पत्रकारिता क्षेत्रको विकास र स्थायित्वका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।

“कोभिडको नियन्त्रण, उपचारको पर्याप्तता, अस्पतालको सशक्तीकरण, स्वास्थ्यकर्मीको व्यवस्थापन तथा कोभिडका कारण कारण ज्यान गुमाएका व्यक्तिका परिवारको व्यवस्थापन, अभिभावकविहीन बन्न पुगेका बालबालिकाको भरणपोषणका लागि सरकारले कार्यक्रम ल्याएको छ”, मन्त्री ढुङ्गेलले भन्नुभयो ।

कार्यक्रममा अर्थ मन्त्रालयका सचिव शिशिर ढुङ्गानाले प्रदेश सरकारले भर्खरै ल्याएको बजेट केन्द्र सरकारको बजेटसँग तालमेल मिलेको र कार्यान्वयनमा सहज हुने खालको रहेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशका अध्यक्ष शिव देवकोटाले वाग्मती प्रदेश सरकारले बजेटमा पत्रकारिता क्षेत्रलाई बेवास्ता गरेको आरोप लगाउनुभयो ।

नेपाल सङ्घीयतामा गएर आर्थिक क्षेत्रका अधिकारसमेत प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण भइसकेको अवस्थामा प्रदेशमा समेत आर्थिक क्षेत्रलाई बिटका रूपमा स्थापित गराउने उद्देश्यले भिडियो कन्फरेन्समार्फत तालिम आयोजना गरिएको आर्थिक पत्रकार समाजले जनाएको छ ।