अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तिलोत्तमामा ट्याक्टर जोताइको नयाँ भाडादर निर्धारण

तिलोत्तमामा ट्याक्टर जोताइको नयाँ भाडादर निर्धारण


रूपन्देही- रूपन्देहीको तिलोत्तमा नगरपालिकामा कृषि कार्यका लागि ट्याक्टर जोताईंको नयाँ भाडा दर कायम गरिएको छ । यसअघि व्यवसायीले लिँदै आएको भाडा दरलाई आवश्यकता र औचित्यको आधारमा समायोजन गरिएको हो ।

नगरपालिकाले ट्याक्टरधनीका प्रतिनिधि समेतको उपस्थितमा सरोकारवालासँग छलफल गरेर नयाँ भाडा दर कायम गरिएको वडा नं १३ का अध्यक्षसमेत रहनुभएका भाडादर निर्धारण समितिका संयोजक गणेश न्यौपानेले जानकारी दिनुभयो ।

कृषिमा प्रविधिको प्रयोग बढ्दै गए पनि कृषि उपकरणको भाडादर वैज्ञानिक नहुँदा किसान मर्कामा थिए । तिलोत्तमामा सर्वपक्षीय छलफलबाट ट्याक्टरको कल्टिभेटर जोताई भाडा प्रतिघण्टा १ हजार ४४० रुपैयाँ र रोटाभेटर जोताई भाडा प्रतिघण्टा रु एक हजार ८५० कायम गरिएको हो ।

डिजलको मूल्यवृद्धि, बजारको अवस्था लगायतको आधारमा २०७७ वैशाखमा निर्धारण गरिएको भाडादरलाई समायोजन गरिएको वडाध्यक्ष न्यौपानेले बताउनुभयो । अब तिलोत्तमा नगरपालिकामा निर्धारण गरिएभन्दा बढी भाडा लिन पाइनेछैन । तर, ट्रेक्टरव्यवसायीले तोकिएभन्दा कम भाडा लिन सक्नेछन् ।

तिलोत्तमा नगरपालिकामा ट्याक्टरको वैज्ञानिक भाडा दर कायम गर्न वडाध्यक्ष न्यौपानेको संयोजकत्वमा समिति गठन गरिएको छ ।

तिलोत्तमा नगरपालिकाको झण्डै ६० प्रतिशत भूभागमा कृषि कार्य हुँदै आएको छ । प्रमुख खाद्यबाली धान रोपाईं प्रारम्भ हुँदै गर्दा ट्रेक्टरको नयाँ जोताईं भाडादर कायम गरिएको हो ।

तोकिएकोभन्दा बढी भाडा कसैले लिए सम्बन्धित निकायमा जानकारी गराउन समिति संयोजक न्यौपानेले किसानलाई आग्रह गर्नुभयो ।