पत्रकारिता जगतका प्रतिष्ठित व्यक्तित्व नारायण वाग्ले, सत्याग्रही डा. गोविन्द केसी, साहित्यकार खगेन्द्र सङ्ग्रौला, ऐक्यवद्धता समूहका अगुवा डा. जीवन क्षेत्रीलगायत मेडिकल सुधारको अभियानमा होमिनुभएका सम्पूर्ण आदरणीय महानुभावहरू बीएन्डसी हस्पिटलले मेडिकल कलेजको सम्बन्धन नपाओस् भनेर राजधानीको सिंहदरवार र बालुवाटार अगाडि आन्दोलनरत हुनुहुन्छ । तपाईहरूका आवाज र समाचारलाई प्राथमिकता दिने काठमाडौंका भव्य मिडियाले हामी सबैलाई अवगत गराइरहेकै छ ।
तपाईंहरूले मोफसलमा (राजधानी बाहिर) कानून बमोजिमका सबै प्रावधान एवम् भौतिक पूर्वाधार तयार गरिसकेको बीएन्डसीलाई सम्बन्धन दिइनु हुँदैन भनेर दिदै आउनुभएको दबाबप्रति मोफसलबासी हुनुको नाताले व्यक्तिगत रूपमा मेरो पूर्ण असहमति छ ।
तपाईंहरूलाई विनम्रतापूर्वक सोध्न चाहन्छु कि काठमाडौंका हस्पिटलहरूलाई सेवा, सुविधा र पूर्वाधारमा उछिनिरहेको बीएन्डसीलाई झापा र सुदूरपूर्वका लाखौं जनता मेडिकल कलेजको रुपमा मान्यता पाएको हेर्न चाहन्छन् । र, त्यसका लागि कुनै पनि बेला तपाईहरूले जस्तै गरी सडकमा उत्रिन सक्छन् भन्ने कहिल्यै सोच्नु भएको छ?
मेरो अनुमानमा तपाईहरूले बीएन्डसीका बारेमा टाढैबाट धारणा बनाउनु भएको छ, एकपटक पनि स्थलगत भिजिट गर्नुभएको छैन ।
मेडिकल उद्यमी दुर्गा प्रसाईंसँग कुनै दुश्मनी वा इगो पालेर यत्रो संरचना तयार भइसकेको झापाको गौरव बीएन्डसी मेडिकल कलेजको सम्बन्धनमा भाँजो हाल्न मिल्दैन । व्यक्ति सँधै बाँचिरहँदैन, तर विकास भनेको दीगो र युगसम्म बाँचिरहने सम्पदा हो । यसको जगेर्ना गर्नु झापाली नागरिकको कर्तव्य हो ।
सञ्चालक दुर्गा प्रसाईं विरामी हुनुभयो भने दिल्ली, सिंगापुर र अमेरिकासम्म पुगेर उपचार गराउने सामर्थ्य राख्नुहुन्छ होला । तर, झापाली आम नागरिकले अन्तिममा जाने भनेकै त्यही बीएन्डसी हो । दुर्गा प्रसाईंले आफ्नो उपचार गर्न हस्पिटल खोलेको र आफ्ना छोराछोरी पढाउन मेकिडल कलेजमा लगानी गरेको पक्कै होइन जस्तो लाग्छ । किनकि, उहाँका छोराछोरीले डाक्टरी शिक्षा पूरा गरिसकेका छन् ।
मेडिकल कलेज बनेपछि त्यहाँ मेरा छोराहरूले एमबीबीएस पढ्ने छैनन् । मेरा छोराहरूले स्तरीय शिक्षाको आकांक्षा बोकेर विदेश र काठमाडौंको महँगो कलेजमा मेरो परिवारको पसिनाको लगानीमा अलिकति भए पनि पढिसकेका छन् ।
सञ्चालक दुर्गा प्रसाईंसँग मेरो व्यक्तिगत नाता वा अन्य कुनै निहीत सम्बन्ध छैन । तर, बीएन्डसी हस्पिटल सर्वसुलभ होस् र आम नागरिकका लागि उपचारको तीर्थस्थल बनोस् भन्ने पवित्र चाहना बोकेको एक सचेत झापालीको रुपमा मैले आफूलाई सुरुका दिनदेखि सम्बन्धनका पक्षमा उभ्याएको छु ।
मेडिकल कलेज बनेपछि त्यहाँ मेरा छोराहरुले एमबीबीएस पढ्ने छैनन् । मेरा छोराहरूले स्तरीय शिक्षाको आकांक्षा बोकेर विदेश र काठमाडौंको महँगो कलेजमा मेरो परिवारको पसिनाको लगानीमा अलिकति भए पनि पढिसकेका छन् ।
आफ्नै आमाले पकाएको खाना खाएर आफ्नै आँगनमा रमाउँदै डाक्टर पढ्न चाहने झापाका धेरै छोराछोरीहरूको सपना तुहाउने र सरकारसँगको रीस र व्यक्तिसँगको पूर्वाग्रह साँधेर बीएन्डसी मेडिकल कलेजको सम्बन्धन रोक्ने कुनै पनि गतिविधिप्रति मौन बस्न मनले मानेन ।
अन्त्यमा, बीएन्डसी हस्पिटल र मेडिकल कलेज जनमुखी भएन वा त्यसले गरिव र निमुखा झापाली आम नागरिकको हितमा सेवा पुर्याउन सकेन भने त्यसविरुद्ध भोलिका दिनमा जस्तोसुकै संघर्ष पनि गरिनेछ, यो मेरो बाचा हो । तर, आजको दिनमा मेडिकल कलेजको सम्बन्धन दुर्गा प्रसाईंलाई मात्र चाहिएको होइन । सबै झापालीको माग हो भन्ने काठमाडौंले हेक्का राखोस् । काठमाडौंले हेक्का राखोस् !
– लेखक झापामा बसेर दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता गरिरहनुभएको छ । उहाँ लोकतन्त्र पोस्ट् दैनिकका सम्पादक हुनुहुन्छ ।
प्रतिक्रिया