अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्व बैंकद्धारा नेपाललाई ९८२ थान अक्सिजन कन्सेन्ट्रेटर प्रदान

विश्व बैंकद्धारा नेपाललाई ९८२ थान अक्सिजन कन्सेन्ट्रेटर प्रदान


काठमाडाैं- विश्व बैंकले नेपाललाई ९८२ थान १० लिटर क्षमताका अक्सिजन कन्सेन्ट्रेटर सहयोग गरेको छ। कोरोना महामारीविरुद्ध उपचार तथा दीर्घकालीन अक्सिजन आपूर्ति क्षमता बढाउनका लागि उक्त सहयोग गरिएको बैंकले जानकारी दिएको छ।

विश्व बैंकको आर्थिक सहयोगमा यूएनओपीएसमार्फत् ल्याइएको अक्सिजन कन्सेन्ट्रेटर बुझ्ने क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले छोटो समयमा ती सामग्री ल्याउन सफल भएकोमा खुसी व्यक्त गरे। उनले प्राप्त अक्सिजन कन्सेन्ट्रेटर आवश्यकताअनुसार सातवटै प्रदेशका स्वास्थ्य संस्थाहरुलाई वितरण गरिने बताए।

‘सबै सार्वजनिक स्वास्थ्य संस्थाहरुमा अक्सिजनको पर्याप्त व्यवस्था गर्न नेपाल सरकारले काम गरिरहेको छ। जसबाट आवश्यक पर्दा सबै नागरिकले अक्सिजनको सहज पहुँच पाउनेछन्,’ मन्त्री तामाङले भने।

विश्व बैंकको आर्थिक सहयोग प्राप्त कोभिड-१९ आपतकालीन प्रतिकार्य तथा स्वास्थ्य प्रणाली तयारी परियोजनाअन्तर्गत यूएनओपीएसमार्फत् अक्सिजन कन्सेन्ट्रेटर खरिद गरिएको हो, जुन परियोजनाले नेपालका प्रत्येक प्रदेशमा एक/एक वटा अक्सिजन उत्पादन प्लान्ट स्थापना गर्न पनि आर्थिक सहयोग गरेको छ। ती प्लान्टहरु आगामी ६ देखि १५ हप्ताभित्र सातै प्रदेशका प्रदेशिक अस्पतालहरुमा यूएनओपीएसमार्फत् ल्याएर जडान गरिने विश्व बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

‘विश्व बैंकले नेपाललाई महामारीमा तत्काल प्रतिकार्य, कोभिड खोप खरिद र स्वास्थ्य प्रणाली सुधार तथा तयारीका लागि १०४ मिलियन डलर सहयोग गरेको छ,’ विश्व बैंकका देशीय निर्देशक फरिस हजदद-जर्भोसले भने, ‘हामी यो विपत्तिमा नेपाल सरकार र विकास साझेदारहरुसँग सहकार्य गरी नेपाल र नेपालीहरुलाई सहयोग गर्न प्रतिबद्ध छाैं, यसलाई हामीले अझ प्रभावकारी बनाउँछाैं।’