अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पहिरो खस्दा मर्स्याङ्दी नदी थुनियो

पहिरो खस्दा मर्स्याङ्दी नदी थुनियो


मनाङ- मनाङ जिल्लाको चामे गाउँपालिका-४ र ५ जोड्ने मर्स्याङ्दी नदीमा पहिरो खस्दा पूर्णरूपमा थुनिएको छ । वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले यहाँ निरन्तर वर्षा भइरहेको छ, चामेबजार जाने ठूलो पुल नजीक पहिरो खस्दा मस्र्याङ्दी नदी थुनिएको छ, नदी थुनिँदा पानीको सतह झन्झन् बढ्दै गएको छ, जोखिम झनै बढेको छ ।’ चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गामाटो र काठदाउरा बगाएर ल्याएपछि नदी थुनिएको हो ।

माथिबाट झरेको पहिरो ढुङ्गामाटो र काठदाउराले मर्स्याङ्दी नदी थुनिँदा पानी जमेर ठूलो ड्याम बनेको छ । थुनिएको भागबाट मर्स्याङ्दी बगे पनि पानी निरन्तर परिरहेकाले बहाव बढेको छ । यसबाट चामेको पारिपट्टिको भाग डुबानमा छ ।

सिङ्गो चामेबजार जोखिममा परेको छ । बाढीले चामेबाट माथिल्लो मनाङतर्फ जाने एक मात्र बेलीब्रिजसमेत कटान गरेको छ । नदीमा बाढी बढ्दै गएकाले चामेबजार उच्च जोखिममा परेको छ ।

प्रजिअ लामिछानेका अनुसार नदीको बहाव बढ्दै गएको र यसले चामेबजार थप जोखिममा परेको छ । उहाँले नेपाली सेनामार्फत बम विस्फोट गराई मर्स्याङ्दी खुलाउने भनिएकामा पानी निरन्तर परिरहेकाले समस्या भएको बताउनुभयो ।

सुरक्षाका सबै निकायसँग समन्वय गरी अहिले खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । लगातारको वर्षातले पानीको बहाव बढेकाले जोखिम उच्च रहेको प्रजिअ लामिछानेले बताउनुभयो । त्यही कारण चामे क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन भनिएको उहाँले जानकारी दिनुभयो ।