अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाकालीको बाढीले १५ घर डुबानमा, त्रासमा स्थानीय

महाकालीको बाढीले १५ घर डुबानमा, त्रासमा स्थानीय


कञ्चनपुर- महाकाली नदीमा पानीको बहाव बढ्दै गएपछि भीमदत्त नगरपालिका-१२ का १५ घर डुवानमा परेका छन । सो नदीमा बाँधिएको बाँधले भुजेला खोला थुनिएर पानी गाउँ पसेको हो ।

सो खोलाको पानीको निकासलाई ख्याल नगरी बाँध निर्माण गरिएकाले खोला गाउँ पसेको स्थानीयबासी सुरेन्द्र मल्लले जानकारी दिनुभयो । ‘बाँध निर्माण गरेका बेला नै खोला थुनिन्छ भनेका थियौँ । त्यतिबेला कसैले सुनेनन्,’ उहाँले भन्नु भयो, ‘अहिले गाउँ नै डुवानमा पर्‍यो ।’

महाकालीको प्रभाव क्षेत्रबारे राम्रो अध्ययन नगरी काम गरिएकाले डुबानको स्थिति सिर्जना भएको भीमदत्त-१२ का वडाध्यक्ष कृष्णसिंह देउपाले बताउनुभयो । नदीको बाढीले निर्माणाधीन पुल नजिकको बाँधमा समेत कटान सुरु गरेको छ । अहिलेसम्म बाँधमा झण्डै १० मिटर कटान गरिसकेको छ । कटान नियन्त्रण गर्न आपतकालीन तटबन्धको काम थालिएको छ ।

तारजालिमा ढुङ्गा भरेर कटान रोक्ने प्रयास भइरहेको पिके निर्माण कम्पनीका इन्जिनियर किशोर पाण्डेले जानकारी दिनुभयो । भीमदत्त-१३ का वडाध्यक्ष लालबहादुर शाहीले सडक भत्किएपछि आवातजावत बन्द गरिएको जानकारी दिनुभयो ।

गड्डाचौकीदेखि महाकाली नदीको पुलसम्म ६ लेनको पक्की सडक निर्माणाधीन छ । सडक भत्किएपछि बाढी बस्तीमा आउने त्रास बढेको छ । महाकालीमा पानीको बहाव बढेपछि नदी किनारका बासिन्दालाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।

नदीमा जति बेला पनि पानीको मात्रा बढेर धनजनको क्षति हुने जनाउँदै नदीमा दाउरा सङ्कलनका लागि नजान र सचेत भएर बस्न सतर्क गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो । नदीको भँगालोले खल्ला भएर ब्रह्मदेव जाने बाटो अबरुद्ध हुन पुगेको छ । बाटोसम्म पानी भरिएपछि स्थानीयको आवतजावत रोकिएको छ ।

सो नदीमा पानीको बहाव बढेपछि खल्ला भएर ब्रह्मदेब आउने नदीको भँगालो बाटोसम्म पुगेको छ । भँगालो बाटोसम्म पुगेपछि आवतजावत रोकिएको रेडक्रसकर्मी करवीर चन्दले बताउनुभयो । भीमदत्त-९ मा पर्ने खल्लासहित टुँडिखेल र मुसेट्टी महाकाली नदी किनारमा छन । तीन बस्तीमध्ये मुसेट्टी र खल्लामा महाकाली नदीको बाढी बस्तीमा पस्ने खतरा हुन्छ ।

यसैबीच महाकाली नदीमा पानी प्रवाह बढेपछि दोधारा चाँदनी नगरपालिकामा जोखिम बढेको छ । नगरपालिकाकाको वडा नं १० का कुतियाकवर र शान्ति टोल क्षेत्रमा बाढीको खतरा बढेको छ ।

नदीको प्रवाहले जोगबुडा नदी थुनिएर शान्ति टोल डुबानमा परेको छ । जोगबुडा नदी थुनिएपछि कुतियाकवरमा पनि बाढी पस्ने चिन्ता बढेको छ ।

स्थानीयबासी महेश घिमिरे महाकालीले जोगबुडा थुनिँदा नदी किनारको १०/१२ बिगाह खेतीयोग्य जमिन डुबानमा परेको जानकारी दिनुभयो । बाढीका कारण डुवानमा परेका घरको नगर प्रमुख सुरेन्द्र विष्ट लगायतले अनुगमनसमेत गरेका छन् । रासस