अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस महाधिवेशनः सात जना सभापतिको दौडमा

कांग्रेस महाधिवेशनः सात जना सभापतिको दौडमा


काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशन हुने करिबकरिब निश्चित भएपछि चुनावी दौडधूप सुरु भएको छ ।

भदौ १६ देखि १९ सम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने तय भएसँगै नेताहरूबीच नेतृत्वको दौडधूप सुरु भएको छ । संस्थापनबाट सभापति शेरबहादुर देउवाले नै दोहोयाउने इच्छा राख्नु भएको छ । तर, नेता विमलेन्द्र निधिले आफू उम्मेदवार हुने स्पष्ट पारिसकेकाले देउवालाई आफ्नै टिम मनाउनुपर्ने झमेला थपिएको छ । देउवालाई आफू उम्मेदवार भएको जानकारी दिन निधि गत बिहीबार नै बुढानिलकण्ठ जानुभएको थियो । करिब दुई घण्टा देउवा र निधिबीच ‘वान टु वान’ कुराकानी भएको थियो।

फागुन ७ गतेदेखि हुने महाधिवेशनमा नै आफू सभापति उठ्ने तयारी गरेको बताउँदै निधिले देउवालाई भेटेरै जानकारी गराएको स्रोतको दाबी छ ।

निधिले आफ्नो तयारी निर्वाचित महामन्त्रीको उम्मेदवारका लागि दबाब दिन गरेको हुन सक्ने कतिपय नेताहरुको बुझाइ छ । किनभने महामन्त्रीका आकांक्षीको लर्को निकै लामो छ ।

१४ औं महाधिवेशनमा फेरि सभापति उठ्ने तयारी गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार पनि केन्द्रीय सदस्यहरूसँग छलफल गर्नुभएको छ । बिहान १० बजेदेखि बुढानिलकण्ठस्थित निवासमा बागमती प्रदेशका केन्द्रीय सदस्यहरूसँग देउवाले छलफल गर्नुभएको थियो ।

प्रदेशगतरुपमा आइतबार नै गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूसँग पनि देउवाले छलफल गर्दै हुनुहुन्छ ।

कांग्रेसको नेतृत्वका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल फेरि उम्मेदवार हुने तयारी गर्नुभएको छ । आफ्नो मात्रै उम्मेदवारी सुनिश्चित गर्न देउवालाई भन्दा पौडेललाई चर्को छ । अघिल्लो पटक देउवासँग पराजित पौडेलको समूहबाट महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता डा. शेखर कोइरालाको दाबी यथावत् छ ।

पौडेल समूहको भोट काटेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि सभापति आकांक्षा राख्नुभएको छ । सिटौला अगाडि बढेको अवस्थामा पनि फेरि पनि देउवालाई अनुकूल हुने अनुमान गरिएको छ ।

सिटौला समूहमा रहनुभएका युवा नेता गगन थापाले महामन्त्रीको लबिइङ सुरु गरिसक्नुभएको छ । १३ औं महाधिवेशनमा गगन डा. शशांकसँग महामन्त्रीमा पराजित हुनुभएको थियो ।

यस्तो थियो ५ वर्षअघिको परिणाम

पाँच वर्षअघि भएको कांग्रेसको १३ औं महाधिवेशनमा देउवाले १८ सय २२ मत प्राप्त गर्नुभएको थियो प्रतिद्वन्दी तत्कालिन कार्यवाहक सभापति रामचन्द्र पौडेलले १२ सय ९६ मत ल्याउनुभयो । त्यसअघि देउवा, पौडेल र कृष्णप्रसाद सिटौलाबीच भएको निर्वाचनमा देउवाले बढी मत ल्याए पनि कसैले पनि आवश्यक बहुमत पुर्‍याउन नसकेपछि पुनः निर्वाचन भएको थियो । दोस्रो चरणको मतदानमा देउवाले पौडेललाई ५ सय २६ मतले हराउनुभएको थियो । उक्त निर्वाचनमा सिटौला तेस्रो स्थानमा आएपछि देउवा र पौडेलबीच पुनः निर्वाचन भएको हो।

त्यसअघि दुई पटक सभापति पदमा पराजित भएका देउवा १३ औं महाधिवेशनमार्फत पार्टीको नेतृत्व तहमा पुग्नुभएको थियो ।