काठमाडौं- उपत्यकामा निजी सवारी साधनलाई सञ्चालन गर्न दिनेबारे तीन जिल्लाका प्रशासनले तयारी थालेका छन् । जोर-विजोर प्रणालीमा चल्न दिने वा अन्य नियम लगाउने भन्ने निर्णय भने भइसकेको छैन ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका संकट व्यवस्थापन समिति (डीसीसीएमसी)ले पनि निजी सवारीसाधनलाई चल्न दिनुपर्ने सुझाव दिएका स्रोतले बताएको छ ।
आज बसेको काठमाडौं जिल्लाको डीसीसीएमसीमा सहभागी एक अधिकारीका अनुसार निजी गाडीलाई खोल्न दिने कुरा भएको छ । यद्यपि, मोडालिटीबारे टुंगो लागेको छैन ।
डीसीसीएमसीले खाद्यान्न पसलहरू पनि ४ बजेसम्म खोल्न सुझाव दिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले लगाएको निषेधाज्ञा सोमबारबाट सकिँदैछ । निषेधाज्ञा थपको निर्णय गर्न आज साँझ ५ बजे प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दैछ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले निषेधाज्ञा थप भए पनि अझै खुकुलो र व्यवस्थित गरिने जानकारी दिनुभयो ।
प्रतिक्रिया