अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पहिला पार्टी एकता जोगाऊँ, अहिलेको विवाद पछि समीक्षा गरौंलाः भीम आचार्य

पहिला पार्टी एकता जोगाऊँ, अहिलेको विवाद पछि समीक्षा गरौंलाः भीम आचार्य


काठमाडौं– एमाले नेता भीम आचार्यले पार्टी भित्र अहिले भएका विवाद र द्वन्द्वहरुलाई उपयुक्त समयमा समिक्षा गरेर पार्टी एकतालाई जोगाउनु पर्ने बताउनुभएको छ ।

सामाजिक सञ्जालमा लेख्दै नेता आचार्यले एमाले विवादका कारण २०६२/०६३ को जनआन्दोलनले ल्याएका उपलब्धिहरु संकटमा परेको बताउनुभएको छ ।

यी उपलब्धीहरुको रक्षा गर्न एमालेमा सहमतिको वातावरण आवश्यक रहेको उहाँले बताउनुभएको छ । उहाँले एमालेलाई एकताबद्ध बनाउन ६ बुँदे सुत्र अघि सार्नु भएको छ ।

आचार्यले यतिबेला एमालेभित्रको किचलोले सिंगो राष्ट्रिय राजनीति विथोलिएको बताउनुभएको छ । सामाजिक सञ्जालमा लेख्दै नेता आचार्यले सामाजिक सञ्जालमा लेख्नुभएको छ ‘२०६२÷६३ को जनक्रान्तिले ल्याएका उपलब्धिहरु संकटमा परेका छन् । अहिले नेकपा एमालेभित्र घात–प्रतिघात, गुट–उपगुट, विश्वास–अविश्वास, कारबाही–प्रतिकारबाही, समर्थन–विरोधजस्ता क्रियाकलापहरु भइरहेका छन् । गत फागुन २८ गते एमालेको नाममा एउटा गुटले गरेका विभाजनकारी निर्णय र गतिविधिहरु यसको मुख्य स्रोत हो ।’

आचार्यले सुझाएका सुत्रहरु

१. पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय कमिटी र आफ्नो अधिवेशन र सम्मेलन तथा वैधानिक प्रक्रियाबाट आएका मातहत कमिटी, जनसंगठन तथा पेसागत संगठनहरु तुरुन्तै बिनासर्त सुचारु गरिनुपर्छ । सार्बभौम सदस्यहरुबाट निर्वाचित कमिटी सुचारु गर्न यो वा त्यो सर्त राख्नु गलत र अनधिकृत हो ।

२. गत फागुन २३ पछि नेकपा एमालेका नाममा गरेका भनिएका सबै गुटका सबै निर्णयहरु खारेज गरिनुपर्छ र गरिएका सबै कामहरु अवैध घोषणा गर्नुपर्दछ ।

३. पार्टीभित्रका गुटहरुको टकरावका कारण यसबीच भएका द्वन्द्व र कामहरुको उपर्युक्त समयमा समिक्षा गर्दै भएका कमि कमजोरीहरु सच्याएर अगाडि बढ्ने प्रतिवद्धता आवश्यक छ ।

४. आगामी दिनहरुमा पार्टी र सरकार सञ्चालन एक भएर गर्ने र आएका चुनौतीहरुको एकतावद्ध भएर सामना गर्नु पर्दछ ।

५.पार्टीलाई विधि–विधान र स्थापित मान्यताहरुको आधारमा सञ्चालन गर्नुपर्दछ ।

६. नेतृत्वले रिस, राग, बदलाभाव, अहंकार, हिनताबोध त्यागेर धैर्य र संयमताका साथ पार्टीलाई एकतावद्ध बनाउने र सबै वामपन्थी र लोकतान्त्रिक शक्ति र पार्टीहरुसँग सुमधुर सम्बन्ध राख्दै सिंगो राष्ट्रलाई एकताबद्ध बनाएर क्रान्तिका उपलब्धिहरु रक्षा गर्दै विकास र समृद्धिको बाटोमा अघि बढनुपर्दछ ।