अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निशा घिमिरेको स्वास्थ्यमा क्रमिक सुधार

निशा घिमिरेको स्वास्थ्यमा क्रमिक सुधार


काठमाडौं- नर्भिकका प्रबन्धक निर्देशक मेघा चौधरीले उद्धार गर्नुभएकी मोडल तथा कलाकार निशा घिमिरेको अवस्थामा सुधार भएको छ ।

दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशय्यामा छटपटाइरहनुभएकी कलाकार घिमिरेको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

नर्भिक अस्पतालका प्रबन्ध निर्देशक चौधरीले घिमिरेको जेठ २७ गते उद्धार गर्नु भएको थियो । हाल नर्भिकले उहाँलाई विशेष उपचार कक्षमा राखेर उपचार गरिरहेको छ ।

उद्धार गरेर ल्याएको भोलिपल्टदेखि नै उचित उपचार, आहारविहार र केयरिङ पाएका कारण कलाकार निशाको मुहारमा चमक देखिएको थियो । अस्थिपञ्जर मात्रै बाँकी रहेको जस्तो देखिने उहाँको शरीरका घाउहरू निको हुन थालेका छन् भने अन्य स्वास्थ्य अवस्थामा पनि सुधार भइरहेको अस्पतालले जनाएको छ ।

हाल नर्भिक अस्पतालले ह्विलचेयर थेरापी, म्युजिक थेरापीलगायतका विभिन्न विधिबाट निशाको उपचार गरिरहेको छ । डा. पंकज जलान नेतृत्वको टिमले उहाँको उपचार गरिरहेको छ ।

उहाँले बुझेजस्तो गरी शरीर तथा अनुहार र आँखाको हाउभाउबाट प्रतिक्रियासमेत दिन थाल्नुभएको छ । निशाले पछिल्लो समय बोल्नेसमेत कोसिश गरिरहनुभएको छ । उपचारका संलग्न स्वास्थ्यकर्मीहरूका अनुसार उहाँ भोक लाग्दा संकेत दिनेसम्मको हुनु भएको छ । ‘उहाँ भोक लाग्यो भने कराएजस्तो गर्नुहुन्छ,’ उपचार संलग्न चिकित्सक भन्नुहुन्छ, ‘क्रमशः अवस्थामा सुधार भइरहेको छ ।’

निशाले सोझै खाना खान भने सकिरहनुभएको छैन । उहाँलाई पाइपमार्फत खाना दिइने गरिएको छ ।
डा. जलानले निशाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताउनुभयो । उहाँले नर्भिकले सकेसम्म सबै विकल्पमा गएर निशाको उपचार गरिरहेको बताउनुभयो । जलानका अनुसार दुर्घटनाका कारण घिमिरेको ब्रेन इञ्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकोले पूर्ण रूपमा ठीक हुने सम्भावना भने न्यून छ । ‘उहाँको ब्रेनमा निकै ड्यामेज भएको छ,’ डा. जलानले भन्नुभयो, ‘तर, आएको बेलाको तुलनामा घाउहरू निको हुन थालेका छन् । हामीले डाइट र थेरापीमा फोकस गरेका छौँ । प्रोटिन, क्यालोरिजहरू प्रशस्त दिइरहेका छौँ । हिजोबाट ह्वीलचेयरमा समेत बसाउन सुरु गरेका छौँ ।’

निशाको अवस्थालाई उहाँले ‘जनरल कण्डीसन इम्प्रूभ’ भएको अवस्थाको रूपमा बुझ्न सकिने बताउनुभयो ।
तीन वर्षअघिसम्म मिडियाहरूमा छाउने गर्नुभएकी मोडल घिमिरेको उद्धार गर्नुअघिको अवस्था निकै दर्दनाक थियो । तीन वर्षअघि अभिनयको कोर्स पढ्न उहाँ भारत जानुभएको थियो । त्यहाँ भएको सडक दुर्घटनामा परी निशा गम्भीर घाइते हुनु भएको थियो ।

दुर्घटनालगत्तै उहाँको भारतकै अस्पतालमा उपचार गरिएको थियो । तर, त्यहाँको अस्पतालको उपचार महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका निशाका बुबाआमाले छोरीलाई नेपालमै ल्याउनुभएको थियो ।

काठमाडौंमा ल्याएर ट्रमा सेन्टरमा राखेर ३ महिनासम्म उपचार गरिएको थियो । तर, उहाँको अवस्थामा सुधार हुन सकेन । त्यसपछि चिकित्सकहरूकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरूमा कलाकार घिमिरेको लगातार थेरापी गरिएको थियो ।

नियमित थेरापी गर्नसमेत आर्थिक अभाव भएको र त्यही बीचमा कोरोनाको संक्रमणसमेत बढेपछि निशा घरमै थन्किनुभएको थियो ।

यो अवधिमा निशाको अवस्थाको बारेमा समाचारहरूसमेत प्रकाशन भएका थिए । तर, उहाँलाई उद्धार गर्न, उचित उपचार व्यवस्था मिलाउन कसैले पनि सहयोग गरेनन् ।

नर्भिकले उहाँको उद्धार गरेपछि निशालाई आर्थिक सहयोग गर्नेहरूको समेत लहर नै चलेको छ । उहाँको नाममा अक्षयकोष स्थापना गरी सहयोग रकम धमाधम जम्मा भइरहेको उद्धारका लागि समन्वय गरेका समाजसेवी दुर्गानाथ दाहालले जानकारी दिनुभयो ।