काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुद्दा मामिला, झुठा आरोप र अनेकौँ आक्रमण झेलेर पनि देशलाई विकास र सुशासनतर्फ अघि बढाइरहेको बताउनुभएको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटरबाटै गौरादह नगरपालिका-६ स्थित डोरामारी माध्यमिक विद्यालय भवनको भर्चुअल शिलान्यासपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो कुरा बताउनुभएको हो ।
विगत ३० वर्षमा नभएका परिमाणमा पछिल्ला तीन वर्षमा देशभरि भएको उल्लेख गर्दै उहाँले काम गर्ने भिजन र अठोट भएको सरकार हुनु र नहुनुमा कति अन्तर हुन्छ भन्ने कुरा यसले स्पष्ट गरेकोसमेत उल्लेख गर्नुभयो ।
‘जम्मा दुई वर्ष मात्र राम्ररी काम गर्ने वातावरण पाइयो, त्यसपछि डेढ वर्ष त कोभिडसँग लडेर र
कहिले के नाममा कहिले के नाममा आफ्नै पार्टीबाट समेत भाँजो हाल्ने प्रयाससँग लड्नुपर्यो,’ उहाँले भन्नुभयो ।
अहिले पनि देशलाई ताजा जनादेशतिर जान नदिने, चौतर्फी प्रयास भइरहेको भनाइ छ । ‘न त भएको सरकारलाई काम गर्न दिने न त वैकल्पिक सरकार नै दिने यस्तो अवस्थाबाट पार पाउनका लागि जनतामा जान सरकार कृत संकल्पित छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
उहाँले भवन शिलान्यासबाट डोरामारीका जनताको भौतिक सुविधा सम्पन्न आधुनिक भवनमा शिक्षा दिने आकांक्षाले मूर्तरूप पाउन आँटेकोसमेत बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आफूले चुनावकै बेलामा पनि जनताको यस्तो आकांक्षा बुझेको र अहिले सोचेभन्दा राम्रो भवन डोरामारी माविलाई उपलब्ध हुने अवस्था बन्नु खुसीको विषय भएको धारणा पनि व्यक्त गर्नुभयो ।
प्रतिक्रिया